Prakash Adhikari November 8, 2021

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ कार्तिक (बीबीसी) । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाउनुभएको थियो।

ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो।

नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन्।

आशा
आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्।

युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ भने डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ।

तर उनीहरू क्वारन्टिन बस्नुपर्ने छैन।

सात खोपलाई मान्यता
अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ।

प्यारिसको एक ट्राभल कम्पनीका प्रमुखले उक्त निर्णयसँगै आश्चर्यजनक बुकिङ देखा परेको रोयटर्स समाचार संस्थालाई बताएका छन्।

कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो।

अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिनेछ।

 

Share Now

Leave a comment.