Prakash Adhikari November 21, 2021

 

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई १४ औँ महाधिवेशनको संघारमा आफ्नै समूहका दुई प्रभावशाली नेता तथा सभापतिका आकांक्षी महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिको दौडबाट बाहिरिएर अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ।

महामन्त्री डा कोइरालाको निवास महाराजगञ्जमा शनिबार बेलुकी भएको छलफलमा नेताद्धयले पौडेललाई अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो।

‘शशांकजी र मैले रामचन्द्र दाइलाई तपाईं अभिभावकको भूमिका निर्वाह गर्नुस् भनेर आग्रह गर्‍यौं,’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूवउपप्रधानमन्त्री प्रकाशमान सिहले भन्नुभयो, ‘उहाँ आफ्नै कुरामात्र गर्नुहुन्छ। रामचन्द्र दाइले आफूलाई सघाउन भन्नुभयो।’

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएका नेता सिंहले छलफलका क्रममा आफूलाई सभापतिमा सघाउन वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग आग्रह गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार वार्ताबाट केही निष्कर्ष निस्केन। खाली छलफलमा सीमिति भयो।

महाराजगञ्जमा तीन नेताको छलफल हुनु अघि महामन्त्री कोइरालाले नेता पौडेल र सिंहसँग निवासमै पुगेर छुट्टाछुट्टै छलफल पनि गर्नुभएको थियो।

शनिबार बिहान पौडेलसँग छलफल गरेर उहाँ सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो।

बालुवाटारबाट फर्किएपछि महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उहाँको निवास चाक्सीबारी पुग्नुभएको थियो। चाक्सीबारी पुगेर उहाँले बेलुकी महाराजगञ्जमा आफ्नो समूहबाट एक उम्मेदवारमा सहमति जुटाउने मनशायले तीन नेताको मिटिड. गर्नुभएको हो।

सभापतिका आकांक्षी रहनुभएका कोइरालाले अघिल्लो हप्ता आफूले डा.शेखर कोइरालाको लागि मैदान छोड्नसक्ने संकेत दिनुभएको थियो । उहाँले यो कुरा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्न लागेपछि उहाँ निकट सांसदहरुले उहाँलाई हतारहतार हेलिकोप्टरबाट संखुवासभाको किामांथाका पुर्याएका थिए ।

भाई शशांकको सद्भाव जित्नुभएका डा. शेखर कोइरालाले पनि नेता सिंहसंग भेटवार्ता बढाउनुभएको छ ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा सभापतिमा आफ्ना प्रतिद्धन्द्धि तथा आसन्न १४ औं महाधिवेशनका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेललाई गठबन्धन सरकारको समन्वय तथा निगरानी गर्ने दलीय संयन्त्रको संयोजक बनाउनु भएको र आगामी निर्वाचनमा पार्टीको एकलौटी सरकार बनेपछि राष्ट्रपति बनाउने शर्तमा सभापतिमा नउठ्न प्रस्ताव गर्नुभएको पनि राजनीतिक वृत्तमा चर्चामा छ ।

 

Share Now

Leave a comment.