Prakash Adhikari November 21, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), ५ मंसिर । पहाडी क्षेत्रमा सेवा विस्तार गर्न बुद्ध एयरलाइन्सले १० वटा ट्वीनओटर जहाज थप्ने भएको छ।

दुर्गमलाई हवाई सेवाले जोडेर सुगम बनाउने योजना अन्तर्गत नयाँ जहाज थप गर्न लागिएको एयरलाइन्सले जनाएको छ।

बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा सुचारु गर्ने योजना बनाएको छ ।

सोही योजनालाई मूर्तरुप दिन बुद्धएअरका प्रबन्ध निर्देशक बीरेन्द्र बस्न्यात अहिले दुबाईमा भैरहेको हवाई जहाजहरुको प्रदर्शनीमा सहभागी हुनुभएको छ ।बुद्ध एअरले जनाए अनुसार प्रबन्ध निर्देशक बस्नेतले ट्वीनअटर विमान निर्माता भाइकिंग एअर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराच्रसँग ‘दुवई एयर शो’मा भेटवार्ता गर्नुभएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले दिनुभएको जानकारी अनुसार हाल देशका मुख्य शहरमा उडान गरिरहेको बुद्धले नयाँ जहाजले दुर्गममा उडान गर्ने छ। दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाएर जहाजको उडान गरिने योजना गरिएको छ।

सूचना अधिकारी कर्णले २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान सुरु गर्ने बताउनुभएको छ ।

बुद्ध एयरले सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ।

बुद्धले अबको ५ वर्षसम्ममा १० जहाजले दुर्गममा उडान भर्ने जनाएको छ।

मुख्य शहरमा उडान भरिरहेको बुद्ध एयरले यसै बर्षदेखि प्रादेशिक उडानमा पनि बढी ध्यान दिएको छ। पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, सिमरा पोखरा विराटनगर–पोखरा उडान थालेको छ।

हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन्। बुद्धसँग १० एटीआर ७२ जहाज रहेका छन्। एटीआर ७२ सन् २०१० देखि नेपालमा बुद्धले उडाउन शुरु गरेको हो।

बुद्ध एयरसँग ३ वटा एटीआर ४२ जहाज छन्। एटीआर ४२ मा ४७ जनासम्म बोक्न सक्छन्। त्यस्तै बुद्ध एयरले बिचक्राफ्ट १९०० डी जहाजबाट सिन उडान गर्दै आएको छ। उसंग २ वटा १९ सीटे ब्रिचक्राफ्ट रहेका छन्।बुद्धले सन २०२२ को पहिलो त्रयमासमा नै थप एटीआर ७२ ५०० जहाज थप्ने जनाएको छ ।

दुबाई एअर शोमा सहभागी भैरहनुभएका प्रबन्ध निर्देशक बस्न्यातले एटीआरका प्रतिनिधिसंग पनि भेटवार्ता गर्नुभएको छ ।

प्रबन्ध निर्देशक बस्नेतले दुबाई एअर सो को सहभागिताका क्रममा जहाजको इन्जिन निर्मार्ता प्रख्यात कम्पनी प्याट एण्ड ह्विटिनीको प्रेसिडेन्ट मारिया ेला पोष्टा र सिनियर भाइस प्रिसिडेण्ट सतिशकुमार कुमारासिंगमसंग पनि भेट गर्नुभएको छ।

बुद्ध एअरसंग अहिले प्याट एण्ड ह्विटिनीको ३३ वटा इन्जिन रहेका छन् । सन २०२२ को मध्यमा यसले थप ८ वटा थप गर्ने योजना बनाएको छ ।

Share Now

Leave a comment.