काठमाडौं, ८ मंसिर । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई आगामी दिनमा अझ तीव्र रूपमा सञ्चालन गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार अहिले नेपालमापर्याप्त मात्रामा खोप उपलब्ध रहेकाले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरूलाई त्यस्तो निर्देशन दिइएको हो।
अब खोप अभियान सञ्चालन भएका क्षेत्रमा गर्भावस्थाको पहिलो तीन महिनापछिका सबै गर्भवतीहरूलाई पनि खोप दिइने भएको छ।
खोप अभियान चलिरहेका बेला कतिपयले व्यवस्थित र समानुपातिक वितरण नभएको भन्ने प्रश्न पनि उठाएका छन्।
तर अधिकारीहरू चाहिँ खोपको व्यवस्थित वितरण नभएको बारेमा एक अर्को निकायप्रति प्रश्न तेर्स्याउने गर्छन्।
सरकारी लक्ष्य
अधिकारीहरूका अनुसार सरकारले आगामी पुस मसान्तभित्र नेपालको खोप लक्षित समूहमध्ये दुई तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ।
त्यस्तै आगामी वैशाख मसान्तभित्र सबै लक्षित समूहलाई खोप उपलब्ध गराइसक्ने बताइएको छ।
त्यसै अनुसार मातहतका निकायहरूलाई खोप अभियान तीव्र पार्न निर्देशन दिएको अधिकारीहरू बताउँछन्।

खोप अभियानः स्वास्थ्य सेवा विभागले गत साता मातहतका निकायलाई गरेको पत्राचार
स्वास्थ्य सेवा विभागले गत साता मातहतका निकायलाई गरेको पत्राचारमा पनि उक्त कुरा उल्लेख गरिएको छ।
उक्त पत्रमा हालसम्मको प्रगति विश्लेषण गर्दा आगामी दिनहरूमा अभियानहरू अझ तीव्र रूपमा सञ्चालन गर्नुपर्ने भएको उल्लेख गर्दै १८ वर्ष माथिका सबैलाई खोप लगाइदिन निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले अहिले नेपालमा पर्याप्त मात्रामा कोभिडको खोप रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले हामीसँग पर्याप्त खोप छ त्यसलाई खपत गर्नका लागि पनि हामीले अभियान तीव्र पार्नुपर्नेछ।”
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म नेपालमा अनुदान पाइएको र नेपालले किनेको विभिन्न कम्पनीका गरी कुल २ करोड ५४ लाख ७० हजार ६ सय ३० मात्रा खोप आइसकेको छ।
त्यसमध्ये सोमवारसम्म १ करोड ७० लाख ९७ हजार ८ सय ६६ मात्रा खोप खपत भइसकेको छ।
तथ्याङ्कका आधारमा भन्दा नेपालमा आएको खोपमा खपत भएको मात्रा घटाउँदा नेपालमा सोमवारसम्म ८३ लाख ७२ हजार ७ सय ६४ मात्रा खोप बाँकी रहेको देखिन्छ।
तर प्रदेश सरकार र स्थानीय सरकारलाई पठाइएको खोपको पूर्ण विवरण नआएको र विश्वव्यापी रूपमै खोप वितरण क्रममा ५ देखि ८ प्रतिशतसम्म खेर जाने भएकाले ८० लाख बाँकी छ भन्न नमिल्ने स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर अधिकारीले बताउनुभयो।
त्यस्तै थप ३ करोड ५६ लाख ९१ हजार ५ सय ४८ मात्रा खोप आउने निश्चित भइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।
गर्भवतीलाई खोप
सरकारले पहिले उच्च जोखिममा रहेका गर्भवतीहरूलाई मात्र खोप दिँदै आएको थियो।
तर अब उक्त नीतिमा परिवर्तन गरिएको दाहालले बताउनुभयो।
उहाँका अनुसार अब गर्भवती भएको तीन महिनापछिका महिलाहरूलाई पनि खोप दिइने भएको छ।
उनका अनुसार सोही नीति अनुसार खोप अभियान चलाउन विभागले मातहतका निकायलाई निर्देशन पनि दिइसकिएको छ।
आलोचना र गुनासो
सरकारी अधिकारीहरूले भण्डारमा पर्याप्त मात्रामा खोप रहेको र खोप अभियानलाई तीव्र पार्ने थालिएको जानकारी दिइरहेका बेला कतिपयले चाहिँ खोप वितरण प्रणालीप्रति नै प्रश्न उठाएका छन्।
विशेषगरी सहरी क्षेत्रमा मात्र केन्द्रित गरेर खोप वितरण भएको र पहुँचवालाले सहजै पाएको तर अरूले नपाएको गुनासो सुनिएको छ।

खोप
स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको खोपसम्बन्धी सूचनापछि त्यसैमा कमेन्ट गर्दै प्रज्वल झाले लेखेका छन्, “….. मैले कुनै पनि खोप पाइनँ।”
किरणकुमार चौधरीले पहिलो मात्रा लगाएपछि दोस्रो नपाएको गुनासो गरेका छन्।
त्यस्तै खोप केन्द्रहरूमा पनि व्यवस्थित वितरण हुन नसकेको गुनासो आइरहेको छ।
त्यस्तै गुनासो आएको मध्येको एउटा अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतम पनि सेवाग्राहीको भिड धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको स्वीकार्नुहुन्छ।
सूचना अधिकारी गौतमले भन्नभयो, ूस्थानीय तहबाट सञ्चालन गर्ने खोप केन्द्रमा जाने मानिसहरू पनि अस्पतालमा जाँदा भिड धेरै बढेको हो। स्थानीय तहले खोप केन्द्रहरूको स्थानीय तहमा सहज हुने गरी खोप केन्द्र निर्धारण गर्न नसक्दा यस्तो भएको हो।ू
तर स्थानीय तहका अधिकारीहरूले पनि कतिपय अवस्थामा पर्याप्त खोप नहुँदा सेवाग्राहीलाई खोप पुर्याउन नसकिएको गुनासो गर्ने गरेका छन्।
सरकारका विज्ञ के भन्छन् ?
सरकारले गठन गरेको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेती नेपालमा अझै पनि केही स्थानमा भिड देखिए पनि मानिसहरूको खोप लगाउने दर कम भएको बताउनुहुन्छ।

खोप ढुवानी
उहाँका भनाइमा नेपालमा खोपका मामिलामा तीन खाले मानिसहरू देखिएका छन्( पहिलो खोपको महत्त्व बुझेको र खोप लगाउन तँछाडमछाड गर्ने, दोस्रो खोप लाउनेबारे अन्योल भएका र तेस्रो खोपबारे जानकारी नै नभएका।
डा. उप्रेतीँ खोपको महत्त्व बुझेका मानिसहरूले गर्दा केही स्थानमा भिडभाड भएको तर देशका कैयौँ स्थानका मानिसहरूले अझै खोपको महत्त्व नबुझेको ठान्नुहुन्छ।
उहाँ भन्नुहुन्छ, “खोप छ तर अझै कार्यक्रमले नसमेटेका मानिसहरू धेरै छन्। खोपको फाइदाबारे जानकारी दिन नसकेको हो कि?”
डा. उप्र्रेतीले खोप केन्द्रहरू निश्चित स्थानमा मात्र नभई अन्य खोप अभियानहरूको जस्तै सबैतिर हुनुपर्ने बताउनुभयो।
त्यसो गर्न सकेमा मात्र नेपालमा खोप लगाउने दर बढ्ने र चाँडै सरकारी लक्ष्य हासिल हुने डा. उप्रेतीको तर्क छ।(बीबीसीबाट)


















