Prakash Adhikari November 26, 2021

 

जावलाखेल (ललितपुर), १० मसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु पनि विभाजित भैरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा.महतले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो ।

पार्टीको भातृ संगठन र विभागहरुको गठनमा विलम्ब नगरौ,सहमति नजुटे बहुमतबाट जाऔ भनेर सल्लाह आउदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो,“सभापतिले कम्युनिष्टहरुको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहंकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।”

पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबूझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उहाँले दावी गर्नुभयो । त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताउनुभयो ।

नेपाली काग्रेसका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा भैरहेको पनि बताउनुभयो । उहाँले पार्टीको क्रियाशील सदस्यता दोब्बर भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले पहिले पार्टीको क्रियाशील सदस्यको संख्या साढे ४ लाख रहेको स्मरण गर्दै भन्नुभयो,“यसपटक झण्डै १०लाख पुगेको छ । युवा पिडीको ठूलो सहभागिता भएको छ ।”

उहाँले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासंग तादात्म्य रहने गरी बनाइएकोले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको पनि बताउनुभयो ।

सहमहामन्त्री डा.महतले यो महाधिवेशनलाई ऐतिहासिक भन्दै महिलाहरुको सहभागिताले उत्साहजनक परिणाम दिने पनि बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेको प्रतिनिधित्वको प्रावधानले केन्द्रीय समितिमा ५७ देखि ५८ जना महिला पुग्नुहुन्छ । केही पहिले जसरी ९०देखि ९५प्रतिशत पुरुषहरुको प्रतिनिधित्व हर क्षेत्रमा देखिन्थ्यो,अब तस्विर फेरिदैछ, त्यो स्थान महिलाहरुले लिन सक्ने छन् । पार्टीको प्रदेश,जिल्ला र तल्ला तहमा पनि महिलाहरुको एक तिहाई प्रतिनिधित्व सुनिश्चित हुँदै आएको छ ।”

उहाँले यो अधिवेशनका क्रममा वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनका कार्यक्रमहरु पर्व जसरी सम्पन्न भैरहेको पनि बताउनुभयो । नेपाली कांग्रेसका सबै कार्यकर्तालाई पर्वजस्तो भैरहेको छ । केही दिनको अन्तरालमा फरक फरक तहका अधिवेशन भैरहेका छन् । दशै,दीपावली, नेपाल सम्वत,छठ आए जस्तो ।

उहाँले १४ औं महाधिवेशनको क्रममा नेता कार्यकर्तामा देखिएको उत्साह र आएको ऊर्जालाई ठूलो शक्तिको रुपमा ब्याख्या गर्दै यसलाई पार्टीका नेता र कार्यकर्तामात्र हैन, शुभेच्छुक, पर्यवेक्षक र आमनागरिकले अत्यन्त उत्सकुतापूर्वक सकारात्मक रुपमा हेरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“योऊर्जा र उत्साह कम्तिमा आउने आमनिर्वाचनसम्म रहनुपर्दछ ।”

कांग्रेस सहमहामन्त्री डा. महतले नेपालको राष्ट्रिय गानमा भनिए जस्तो महाधिवेशनले सयै थुगा पूmललाई एकै मालामा उनेको बताउदै यो माला चुडिन दिन नहुने बताउनुभयो ।
उहाँले महाधिवेशनको क्रममा भएको आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्ने बताउदै भन्नुभयो,“यो हामीबीचको आन्तरिक प्रतिसप्र्धा हो । जिम्मेवारी कसै न कसैले लिनै पर्दथ्यो । मतदाताबाट जिम्मेवारी लिने प्रक्रिया अबलम्बन गरिएको मात्र हो । यसलाई अन्तिम लडाई ठानेर साथीसाथीबीचमा तिक्तता र रिक्तता नरहोस् । शुत्रबत् व्यबहार नहोस् । आम निर्वाचनमा जाँदा आफ्नो पार्टीको साथी अर्को पार्टीको जस्तो र अर्को पार्टीको प्रतिस्पर्धी आफ्नो जस्तो ठान्ने प्रवृत्ति त्याग्नुपर्दछ । कसैप्रति गालीगलौज नहोस् । मित्रवत् व्यबहार होस् ।”

कांग्रेस सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसले १४ औं महाधिवेशनपछि प्रचार संयन्त्रमा भएको कमी कमजोरी सुधार गर्ने पनि बताउनुभयो। उहाँले क्रान्ति गर्ने,आन्दोलन गर्ने, संविधान बनाउने,सविधान कार्यान्वयन गर्ने र संविधानको परिधिभित्र रहेर देशको भौतिक पूर्वाधार तथा आर्थिक–सामाजिक विकासमा नेपाली कांग्रेसले जस्तो ऐतिहासिक काम कसैले नगरेको उल्लेख गर्दै भन्नुभयो,“तर हाम्रो कमजोरी छ, एकर्काको आलोचना गर्दछौ, विपक्षीको हैन । नेपालमा ओलीजीको गफ बिकेको छ । हाम्रो काम विकिरहेको छैन । हामी व्यक्तिलाई केन्द्रमा राख्दै छौ । पार्टी र विचारलाई कन्द्रमा राख्नुपर्यो । पार्टीको क्षमता बढे हाम्रो क्षमता बढ्छ । हाम्रो प्रतिष्ठा बढ्छ ।”

कांग्रस सहमहामन्त्री डा. महतले बामपन्थी प्रचार शैलीको उल्लेख गर्दै भन्नुभयो,“नेपालमा काग्रेस पार्टीले यति धेरै काम गर्दा पनि हामीले प्रचार गर्न सकेनौ । उनीहरुले तिल बराबर काम गरेका छन् पहाड बराबर प्रचार गर्दछन । पहाड बराबर गल्ती गर्दछन् र विवाद हुन्छ तर तिल बराबार बाहिर आउदैन । हामीले तिल बराबर गल्ती गर्यौ भने पहाड बराबर हल्ला हुन्छ । पहाड बराबर काम गर्छौ, तिल बराबर प्रचार हुन्छ ।”

सहमहामन्त्री डा.महतले पार्टीको प्रचार सयन्त्रलाई समय अनुसार सूचना प्रविधिमैत्री बनाउदै पार्टी र पार्टीले तीन तहका सरकारमार्फत गरेका कामहरुलाई जनताको बीचमा लैजान सक्षम पारिने र नेपाली कांग्रेसका कार्यकर्ताले पाटीको इतिहास, विचार, सिद्धान्त र पार्टीले गरेका काम जान्न सक्ने बनाइने पनि बताउनुभयो ।

उहाँले पार्टीलाई आगामी निर्वाचनमा अत्यधिक बहुमतमा पुर्याउनु पर्ने उल्लेख गर्दै भन्नुभयो,“संसारभर कम्युनिष्टहरु निर्वाचनमा गएपछि हराएका छन्, नेपालमा पनि त्यहि स्थिति ल्याउनुपर्दछ । आगामी निर्वाचनमा त्यो अवस्था आओस ।”

उहाँले पार्टीका साथीहरुलाई सहकर्मी र प्रतिनिधिसाथीहरुले नै जिम्मेवारी सुम्पुनुभएकोले पार्टीले काम दिएन भन्ने गुनासो आउन नपर्ने पनि बताउनुभयो ।

Share Now

Leave a comment.