काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को केन्द्रीय कार्यसमितिको लागि आज हुने भनिएको निर्वाचन शनिवार हुने भएको छ ।
महाधिवेशनमाप्रतिनिधिको विवाद उठेपछि निर्धारित कार्यतालिका सरेको हो ।
सर्लाहीबाट दुईवटा समूहमा प्रतिनिधि पठाइएको, ललितपुरबाट तोकिएको भन्दा दुई जना प्रतिनिधिको नाम थपिएको र भक्तपुरमा निर्वाचन नै नगरी भागबन्डामा प्रतिनिधि चयन गरिएपछि विवाद भएको थियो । भक्तपुरमा प्रतिनिधि छनोटको निर्वाचन नहुँदा नगर, प्रदेश, क्षेत्र र जिल्लाका प्रतिनिधि आउनै सकेनन् ।
प्रतिनिधिमा विवाद देखिएपछि महाधिवेशन प्रतिनिधिको नाम रुजु गरी विवाद टुंग्याउन सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, तोरण गुरुङ, जनक प्याकुरेल, श्याम शाही, पुस्कर कार्की, श्यामशरण पाठकसहितको टोली बनाएको थियो । टोलीले टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरेपछि विवाद टुंगिएको छ ।
मतदाता नामावली बुधबार सार्वजनिक गर्ने गरी तयार गरिएको निर्वाचन कार्यतालिका यसैले एक दिन पर सरेको हो । मतदाता नामावलीमाथिको दाबी विरोध शुक्रबार बिहान साढे सात बजेबाट सुरु हुने र अन्तिम नामावली प्रकाशन गरेर शुक्रबार साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने नयाँ सशोधित कार्यतालिका बनाइएको छ ।
अब शुक्रबार उम्मेवारीको अन्तिम नामावली सार्वजनिक गरेर शनिबार मात्रै निर्वाचन हुनेछ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकहरूको भनाइ छ ।
‘केन्द्रीय सदस्यहरू विभिन्न क्षेत्र, समूहबाट छनोट गर्नुपर्ने भएकाले मतपत्र बनाउँदा मतदाता झुक्किन सक्ने भएकाले अध्यक्षबाहेकका पदका लागि विद्युतीय मतदान गर्न लागिएको बताइएको छ ।
निर्वाचनका लागि १ सय वटा भोटिङ मेसिन महाधिवेशन स्थलमा ल्याइनेछ । यसमध्ये ९१ वटामा एकै पटक मतदान गर्न सकिने छ । तीमध्ये ५ वटा विकल्पका रूपमा राखिने र ४ वटा मेसिनमा भने मतदाता शिक्षाका लागि प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।


















