Prakash Adhikari December 6, 2021

 

काठमाडौं, २० मंसिर । नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह(प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिनुभयो।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो।

उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

यो भेरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन्।

विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ।

नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

नयाँ भेरिअन्ट आएसँगै अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई खोपको बुस्टर मात्रा दिनुपर्ने माग भइरहेको छ।

कोभिड ओमिक्रोन
कहाँबाट आएका थिए सङ्क्रमित ?

ूनयाँ भेरिअन्ट पुष्टि भएको देशबाट ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदा नियम अनुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। उहाँसँग सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैँलाई मङ्सिर ७ गते कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ आएको थियो,ू अधिकारीले भन्नुभयो।

दुवै जनाको नतिजामा एस जिन फेला नपरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको आनुवंशिक परीक्षणमा आइतबार ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ।

दुवैजना हाल आइसोलेसनमा रहेको र कुनै लक्षण नरहेको बताइएको छ।

“ती दुई व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको बृहत् रूपमा कनट्याक्ट ट्रेसिङ गरिएको छ। उहाँहरूको सम्पर्कमा आएका सबै ६६ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो र सबै स्वस्थ्य रहेको पाइएको छ”, उहाँले भन्नुभयो।

नेपालले विदेशबाट आउने हवाई यात्रुहरूलाई एन्टिजन परीक्षण गर्नुका साथै खोप नलगाएकाहरूलाई क्वारन्टीन अनिवार्य गरेको छ।

कोभिड ओमिक्रोन

कोभिड ओमिक्रोन
नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूबाट प्रवेश गर्नेहरूलाई नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गर्नुका साथै खोपको विवरण लिने र पूर्ण मात्रा खोप नलगाएका र शङ्कास्पद देखिए एन्टिजन परीक्षण गर्ने गरेको मन्त्रालयले जनाएको छ।

तत्कालै रिपोर्ट आउने एन्टिजन परीक्षणमा पोजेटिभ फेला परेकाहरूलाई पुनस् पीसीआर परीक्षण गर्ने र शङ्कास्पद नमूनाहरूको जीन सिक्वेन्सिङ पनि गर्ने गरिएको सह(प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार विगत एक महिना अगाडीदेखि पोजेटिभ भएका नमूनाहरूको थप परीक्षण गर्ने गरिएको छ।

 

Share Now

Leave a comment.