काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको यही मंसिर १९ गते भएको प्रदेश अधिवेशनको नतिजाले आगामी महाधिवेशनले वर्तमान सभापति शेरबहादुर देउवालाई नै थप एक कार्यकालको लागि अनुमोदन गर्ने संकेत दिएको छ ।
१९ गते आरम्भ भएको प्रदेश अधिवेशनमा कांग्रेसको ६ प्रदेशका सभापति मध्ये ४ वटा प्रदेशमा संस्थापन र २ वटा प्रदेशमा इतर पक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
सभापति देउवा पक्षले प्रदेश १, ३, ६ र ७ मा विजय पाएको छ भने सस्थापन इतर समूहले गण्डकी र लुम्बिनीमा विजय पाएको छ ,
यस्तै प्रदेश १ को सभापतिमा संस्थापन तर्फका उद्धव थापा विजयी हुनुभएको छ। सोमबार बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्। थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यो प्रदेशमा नेता कृष्ण सिटौला निकट थापालाई सभापति देउवा पक्षले सहयोग गरेको हो।
यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजयी हुनुभएको छ। इतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी हुनुभयो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गर्नुभएको थियो।
पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गर्नुभएको थियो।
यस्तै हिजै मतगणना सकिएको गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी भएका थिए।
लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्नुभएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याउनुभयो।
कर्णाली प्रदेशमा पौडेल कोइराला निकट भूपेन्द्रजंग शाही र विमलेन्द्र समूहका मोतिबहादुर बमलाई पराजित गर्दै संस्थापन पक्षका ललितबहादुर शाही निर्वाचित हुनुभयो ।
सुदूरपश्चिम प्रदेशमा इतर समूहका नारायणदत्त मिश्रलाई पराजित गर्दै संस्थापन समूहका वीरबहादुर बलायर विजयी हुनुभएको छ।
प्रदेश २ मा भने क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन गरेर स्थगित भएको छ ।
प्रदेश अधिवेशनमा प्रदेश सभा प्रतिनिधि, सम्बन्धित प्रदेशका महाधिवेशन प्रतिनिधि, संबन्धित प्रदेशका जिल्ला सभापति र केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रहने भएकोले देशभर देउवा समूहका प्रतिनिधि बढी निर्वाचित भएको अनुमान गरिएको छ ।
प्रदेश निर्वाचनका क्रममा प्रदेश १ मा सभापति पदका आकांक्षी डा. शेखर कोइराला, उपसभापतिक पदका आकांक्षी महेश आचार्य र केन्द्रीय सदस्य बलबहादुर केसीले मत नहाल्नुभएको तर उहाँहरुको उम्मेदवार गुरु घिमिरले र सभापतिमा जम्मा २ मतले पराजय भोग्नु परेकोले इतर समूहका नेताहरुको नेतृत्व क्षमतामा प्रश्न उठ्न गएको छ ।
आफ्ना उम्मेदवारलाई समेत भोट नहाल्ने नेतृत्वले कसरुी निर्वाचनमा आफूलाई मत माग्न सक्छ? यो घट्नाले पनि पार्टी सभापतिमा देउवा समूहलाई निकै सहयोग पुग्न गएको बतान्छ ।


















