काठमाडौं, २२ मंसिर । झण्डै एक बर्ष पछि २०२२ को अक्टोबर नोभेम्बर मा अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले ओमान र आयरल्याण्डको सामना गर्नुपर्ने भएको छ ।
ग्लोबल क्वालिफायरमा स्वतः छनोट भएको नेपालले ग्लोबल आगामी २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुने क्वालीफायर ‘ए’ खेल्ने भएको छ।
आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार ओमानमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘ए’ मा नेपाल सहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्याण्ड, युएई, जर्मनी, क्यानडा, बहराईन र फिलिपिन्स सहभागी हुनेछन्। यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वेसहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्।
सबै टिमले एक अर्का बिरुद्ध एकएक खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिम थाहा हुनेछ।
टी २० विश्वकप क्रिकेट २०२२ मा कुल १६ टोली सहभागी हुँदैछन् जसको लागि १२ टोलीको टुंगो लागिसकेको छ। आयोजक अष्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश सुपर १२ चरणको लागि स्वतः छनोट भैसकेका छन् ।
त्यस्तै समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।
ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टी मलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। नेपाल ग्लोबल क्वालिफायर ए मा परेको छ ।
ग्लोबल क्वालीफायर ‘बी’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालिफायरमा उत्कृष्ट हुने दुई दुई टिम २०२२ को टी २० विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
नेपालको समुहमा भर्खरै टी २० विश्वकप खेलेको टिम ओमान र आयरल्याण्ड हुँदा उत्कृष्ट दुईमा पुग्न नेपाललाई पक्कै सहज हुनेछैन। उत्कृष्ट दुई हुन नेपालले दुई सबैभन्दा बलियो टिम मध्ये कम्तिमा एउटालाई पराजित गर्नु पर्ने अवस्था आउने देखिन्छ । त्यस बाहेक युएई पनि नेपालको मार्गमा बाधक बन्दै आएको छ । तर अन्य टीम जर्मनी, क्यानडा, बहराईन र फिलिपिन्स भने तुलनात्मक रुपमा कमजोर मानिन्छन् । ग्लोबल छनोटमा नेपाल, ओमान, आयरल्याण्ड र युएई बीचको खेलको नतिजाले नै निर्णायक भूमिका खेल्ने देखिन्छ ।
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी २० विश्वकप खेलेपछि नेपाल टी २० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टी २० विश्वकप क्वालिफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टी २० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो।
यस पटक भने नेपाल टी २० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।


















