काठमाडौं, २५ मंसिर । नेपाली क्रिकेट टिमको मूख्य प्रशिक्षकमा श्रीलंकाका पुबुदु दासनायके नियुक्त भएका छन् । उनलाई क्यानले दुई वर्षे सम्झौता गर्दा नियुक्त गरेको छ।
सन् २०११ देखि २०१५ सम्म पनि नेपाली टिमको मुख्य प्रशिक्षण सम्हालेका दासानायके अहिले ५१ वर्ष पुगे । उनको कार्यकालमा नेपालले २०१४ टी २० विश्वकप खेलेको थियो।
पुनः नेपालको प्रशिक्षकको रुपमा चयन भएकोमा दासनायकले दोश्रो अवसर प्रति कृतज्ञता व्यक्त गरेका छन्।
“नेपाल क्रिकेट संघसंग काम गर्ने अवसर पाउँदा म खुसि छु र आफूलाई धन्य ठान्छु। मलाई आशा छ कि म नेपाल क्रिकेटलाई उचाईमा लैजान सक्नेछु। हामीसंग सिनियर र जुनियर स्तरमा पर्याप्त प्रतिभाशाली खेलाडीहरु छन्।” उनले बताए।
“म नेपाल क्रिकेट संघ, समस्त व्यवस्थापन र नेपालका क्रिकेट फ्यानहरुलाई यो सुन्दर अवसरको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।” उनले भनेका छन् ।
श्रोतका अनुसार दासानायकेले मुख्य प्रशिक्षक भए बापत मासिक करिब १२ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन्।
पुबुदुलाई प्रशिक्षक नियुक्त गरेपछि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले स्वागत गरेका छन् – “क्यान पुबुदु दासानायकेलाई नेपालको पुरुष टिमको मूख्य प्रशिक्षकको रुपमा स्वागत गर्न चाहन्छु। नेपाली क्रिकेटमा योगदान तथा एसोसीएट क्रिकेटमा उनको बिज्ञताको हामि सम्मान गर्छौं। म आशा गर्छु उनको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ठूलो फड्को मार्नेछ।”
चन्दले थप बताएका छन् – “प्रमूख प्रशिक्षक पुरुष राष्ट्रिय टिमको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनमा निरन्तरताको नेतृत्व गर्न जिम्मेवार हुनेछन्। उनी क्रिकेट म्यानेजर ( बिनोद दास ) संग नजिक रहेर प्रशिक्षण कार्यक्रम, वर्तमान र भविष्यका क्रिकेटलाई प्रेरणा बन्न काम गर्नेछन्।”
पुबुदुले नेपाल बाहेक क्यानडा र अमेरिकी क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका छन । क्यानडाले २०११ को एकदिवसीय विश्वकप खेलेको थियो भने २०१९ मा अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो।


















