काठमाडौं, ३ पौष । कोरोना भाइरसको जोखिम बढेको भन्दै विभिन्न ६७ वटा मुलुकबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइन अनिवार्य गरिएको सूचना हाललाई स्थगन गरिएको छ ।
अध्यागमन विभागले कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै ६७ देशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिने सूचना शुक्रबार जारी गरेको थियो ।
विभागले शनिबार बिहान अर्को सूचना प्रकाशन गरी अहिलेलाई यो कुरा लागू नहुने जानकारी दिएको हो।
अध्यागमन विभागले शुक्रबार साँझ मात्र अमेरिका, मलेसिया तथा विभिन्न युरोपेलीसहित ६७ मुलुकबाट नेपाल प्रवेश गर्नेले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्नेलगायत नियम लागू गरिएको भनेर जानकारी दिएको थियो ।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ’, अध्यागमनको पछिल्लो सूचनामा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना यथावत् रहनेछन्।


















