Prakash Adhikari December 18, 2021

काठमाडौं, ३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री देउवाले संघीय संसदको बैठक सञ्चालन र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संग गरिएको संझौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएको छ । उसले आफ्नो पार्टीले कारबाही गरेका सांसदहरुका सम्बन्धमा प्रतिनिधिसभाका सभामुख समक्ष दिइएको जानकारी टाँस गरेर उनीहरुलाई सांसदबाट बर्खास्त गर्ने माग अगाडि राखेको छ ।

एमालेबाट कारबाही गरेपछि दर्ता भएको राजनीतिक दल नेकपा एकीकृत समाजवादीको सहयोगमा वर्तमान सरकार बनेकोले कारबाहीको प्रक्रियामा जान सभामुख पनि तयार हुनुहुन्न र सरकारको नेतृत्व सम्हालेर बस्नुभएका प्रधानमन्त्री देउवा पनि ।

सत्ता गठबन्धनमा संगै रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरुले एमसीसी सम्झौताका विषयमा लिएको अब्यबहारिक अडान प्रधानमन्त्री देउवाको निमित्त ठूलो चुनौतीको रुपमा देखा परेको छ ।

तात्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलले यो संझौताका अस्पष्ट बूँदाहरु स्पष्ट पारेर पारित गर्नुपर्ने सुझाव दिएको थियो ।

अर्थमन्त्रालयले सो अनुरुप अस्पष्ट भएका ११ बूँदाका बारेमा एमसीसीलाई पत्राचार गरेपछि एमसीसीले त्यसलाई स्पष्ट पारिसकेको छ ।

यो धरातलमा बसेर एमसीसी पास गर्न सत्ता गठबन्धनलाई निकै सजिलो अवस्था सिर्जना भएको छ । यसमा माधवकुमार नेपालले संशोधनको कुरा राखेर अप्ठ्यारो पार्नुभएको छ । संशोधनको आवश्यकतालाई अमेरिकाले ठाडै अस्वीकार गरिदिएकोले माओवादी र एकीकृत समाजवादी संशोधनको अडानमा टसमस नभए एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा एमालेको साथ लिन बाध्य हुने र त्यसो भएमा वर्तमान संसद विघटन भई शीघ्र निर्वाचनमा जाने परिस्थिति सिर्जना हुने देखिन्छ ।

Share Now

Leave a comment.