बुटबल(रुपन्देही), ३ पौष । नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरूलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी दिई प्रविधिमा अभ्यस्त गराउदै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत उक्त कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
एकैसाथ सञ्चालित उपरोक्त कार्यक्रममा ३ हजारभन्दा बढी बिद्यार्थीहरु सहभागी भएको बताइन्छ । अभियानमा वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बंैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ, विद्यार्थीलक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूबाट प्राप्त जिज्ञासाहरूलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरूले सम्बोधन गरेका थिए ।
रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणी बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरूमा सम्बन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवा सुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभएको थियो ।
अनवरत विश्वासको ८५ औँ वर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रूपमा रहन सफल भएको छ ।
बैंकले हाल ७२ जिल्लाका २ सय १३ शाखाहरू १ सय ५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पुर्याइरहेको छ ।


















