जनकपुरधाम(धनुषा) , ९ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी सभपति शेरबहादुर देउवालाई झन बलियो बनाएको छ ।
केन्द्रीय कार्यसमितिमा अत्यधिक सीटमा आफ्नो पक्षलाई विजयी बनाउन सफल प्रधानमन्त्री तथा पार्टी सभापतिलाई प्रदेश २ को निर्वाचनमा पनि सफलता मिलेको छ । बिहिबार सम्पन्न प्रदेश २ को निर्वाचनमा सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनुभएको छ ।
आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत ल्याउनु भएको छ । कृष्ण यादवले १ सय ४१ मत अन्तरले रामसरोज यादवलाई पराजित गर्नुभएको छ ।
प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुन्छ । अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ ।
निर्वाचनमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो ।


















