काठमाडौं, ११ पौष । शेयर बजारमा आइतबार हरियाली छाएको छ । धितोपत्र बजार परिसूचक करिब ३ प्रतिशत बढेर २६०० बिन्दु नजिक पुगेको छ।
आइतबार नेप्से २.८२ प्रतिशत अर्थात ७१.२० अंक बढेर २५९१.४२ बिन्दुमा बन्द भएको हो।
आज कारोबार रकम पनि सुधार भएको छ। यस दिन २ सय ३१ कम्पनीको ८६ लाख १ हजार कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।
आइतबार बीमा कम्पनीहरुको शेयरमा विशेष आकर्षण देखिएको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९.७८ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक ८.१७ प्रतिशत बढेको छ।बीमा कम्पनीहरुको पूँजी बृद्धिको चर्चाले जीवन र निर्जीबन दुवै बीमा कम्पनीको शेयरमा आकर्षण देखिएको हो ।
त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५.५३ प्रतिशत, लघुवित्तको ३.५६ प्रतिशत, लगानीको ३.०१ प्रतिशत बढेको छ।
यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यछन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन १.१२ प्रतिशत घटेको छ।
यस दिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आइतबार २० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य १० प्रतिशत बढेको छ।


















