शारजाह(संयुक्त अरब इमिरेट्स), ११ पौष । संयुक्त अरब इमिरेट्स(युएई)मा भैरहेको अन्डर १९ एसिया कप प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि पराजय भोग्दै नेपाली टिमले सेमिफाइनलको यात्रामा विराम लगाएको छ ।
शारजाह क्रिकेट स्टेडियममा खेलमा नेपाली किशोरहरुको टोली श्रीलंकासंग ६० रनले पराजित भएको थियो ।
खेलमा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ सय २२ रन बनाएर दिएको ३ सय २३ रनको लक्ष्य नेपालले हासिल गर्न सकेन ।
नेपालले ५० ओभरको निर्धारित खेलमा ४७.५ ओभरमा सबै विकेट गुमाउदै २ सय ६२ रन बनायो र नजिता श्रीलंकाको पक्षमा छोडिदियो ।
खेलमा अर्जुन साउदले ६४ रन, विवेक यादवले ४६, बसिर अहमदले ४३, सन्तोष कार्कीले ३४, देव खनालले २८, बसन्त कार्कीले १६, गुल्शन झाले १३, मोहम्मद आदिल आलमले ७ र तिलक भण्डारीले १ रन बनाए ।
नेपाललाई रोक्ने क्रममा श्रीलंकाका रविन डे सिल्भा र माथिसा पाथिरानाले ३।३, तथा दुनिथ वालालागे र सिभोन डानियलले एक एक विकेट लिएका थिए ।

श्रीलंंकाको विशाल स्कोर
यस अगाडि टस जितेर ब्याटिड. रोजेको श्रीलंकाले ५० ओभरको खेलमा ४ विकेटको क्षतिमा ३ सय २२ रन जोडेको थियो ।
खेलमा ओपनर चमिदु विक्रमासिंगे र सदिशा राजापक्षले शतकीय योगदान दिए। राजापक्षले १ सय १९ बलमा ११ चौका र २ छक्का मद्दतले १ सय ३१ रन तथा विक्रमासिंगेले १ सय २६ बलमा ८ चौका र २ छक्का मद्दतले १ सय ११ रन बनाए । खेलमा दुनिथ वालालागेले ३४ तथा शेभोन ड्यानियलले १७ रन र याशिरु रोड्रिगोले ६ रनको योगदान दिए ।
नेपालको बलिंगमा आदिल अन्सारीले २ , देव खनाल र विवेक यादवले समान एक एक विकेट लिए।
पहिलो खेलमा बंगलादेशसंग सम्मानजनक पराजय समेत लिन चुेकेको नेपालले अब कुवेतसंग खेल्न बाँकी छ । तर शीर्षमा रहेका दुई टिम सेमिफाइनलमा जाने भएकोले नेपालको अगाडिको यात्रा यही समाप्त भएको छ ।
समूहबाट श्रीलंका र बंगलादेश सेमीफाइनल प्रवेश गरेका छन्।
विगतमा अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै आएका नेपाली क्रिकेट खेलाडीहरुको प्रर्दशन हालैका केही खेलहरुमा खस्किदै गएकोले क्रिकेट संघमा देखा परेको राजनीतिक प्रतिशोधको असर खेलाडी हुँदै खेलसम्म देखा पर्न थालेको देखिएको छ । क्रिकेट संघका पदाधिकारीहरुको आपसी इष्र्याले ल्याएको प्रतिशोधपूर्ण कारबाही प्रकरणमा सरकारले हस्तक्षेप गरेन भने अपेक्षित गतिमा प्रगति गरिरहेको नेपालको क्रिकेट खेल ओरालो लाग्न सक्ने बताइन्छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुको आयोजना गरी खेलाडीहरुलाई अवसर गर्न छोडेर खेलाडीले पत्रपत्रिकाका व्यक्त गरको असन्तुष्टिलाई आधार बनाएर कारबाही गर्ने संघको निर्णय अत्यन्तै आपत्तिजनक भएको क्रिकेटप्रेमीहरुले सार्वजनिक रुपमा नै बताएका छन् ।


















