दुबाई(सयुक्त अरब इमिरेट्स), १४ पौष । मंगलबार सम्पन्न लिगको अन्तिम खेलमा पनि नेपाली यु १९ टोली प्रतिस्पर्धी कुवेतसंग १ विकेटले पराजित भयो। कुवेतसंग नेपाली यु १९ टिम पराजित भएको यो पहिलो पटक हो।
युएईको दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी २ मैदानमा नेपालले दिएको २ सय ४० रनको लक्ष्य कुवेतले ४८.५ ओभरमा ९ विकेट क्षतिमा नै हासिल गर्यो।
२ सय ४० रनको लक्ष्य पछ्याएको कुवेतको लागि क्याप्टेन मित भाभसरले १ सय ७५ रन, जुडे सल्दन्हाले २५ रन, अब्दुल्लाह फारुकले ७, मोहम्मद बास्तकीले ५, अब्दुल सादिकले २ तथा अब्दुल्लाह जाहिर र मोह्म्मद उमारले एक एक रनको योगदान दिए ।
कुवेतलाई रोक्ने क्रममा नेपालको बलिंगमा गुल्सन झाले ३ विकेट तथा शेर मल्ल , बसिर अहमद र बिबेक यादवले समान दुईदुई विकेट लिए पनि त्यो जितको लागि पर्याप्त रहेन।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४२.३ ओभरमा २ सय ३९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।
नेपालको लागि बसिर अहमदले सर्वाधिक ५६ रन, बिबेक राना मगरले ५० रन आदिल आलमले ४९ रन, शेर मल्लले २१ रन तथा दिपेश कंडेलले १५ रन योगदान दिए। खेलमा अर्जुन साउदले १०, गुल्शन झाले ७, क्याप्टेन देव खनाल,सन्तोष कार्की र प्रकाश जैसीले ५ . ५ रनको योगदान गरेका थिए ।
नेपाललाई रोक्ने क्रममा कुवेतको बलिंगमा मिर्हा एहमद र अब्दुल सदिकले समान ३ /३ विकेट तथा हेनरी थोमस र मोहम्मद बस्ताकीले समान २ / २ विकेट लिएका थिए।
प्रतियोगिता अन्तर्गत नेपाल पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासंग क्रमशः १ सय ५४ र ६० रनले पराजित हुँदा सेमीफाइनल यात्रा बाट बाहिर भएको थियो। कुवेत पनि यस अघि नै दुई खेलमा हार ब्यहोर्दै बाहिर भैसकेको थियो।
समूहमा शीर्ष दुईमा रहेका बंगलादेश र श्रीलंका सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।
नेपाली टोलीले यू १९ मा गरेको हालको प्रदर्शन सबै ढंगले बिर्सन लायकको देखिएको छ । क्रिकेट खेलको विकासको लागि स्थापना भएको नेपाल क्रिकेट संघ खेलाडीलाई प्रोत्साहित गर्नमा भन्दा खेलाडीहरुसंग प्रतिशोध लिन मौका ढुकेर बसेको रहेछ भन्ने कुराको पुष्टि आफ्नो र टिमका खेलाडीहरुको पारिश्रमिकका बारेमा कुरा उठाउदा गरिएको कारबाहीको प्रकरणले स्पष्ट गरेको छ ।
क्यानले गरेको कारबाही फुकुवाको वा पुनरावलोकन वा सुधारको कुनै खबर नआए पनि क्यानले नियुक्त गरेका नयाँ क्याप्टेन सन्दीप लामिछानेले पनि यो सिजनको बिग ब्यासमा कुनै चमत्कार देखाउन सकिरहेका छैनन् । यसले नेपालको क्रिकेट एकसाथ ओरालो लाग्ने हो कि भन्ने चिन्ता खेल क्षेत्रमा देखिन थालेको छ ।


















