काठमाडौं, १६ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभएको छ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताउनुभयो।
उहाँले जहाज खरिदका लागि गृहकार्य अगाडि बढेको बताउनुभयो। जहाज खरिदमा कुनैपनि प्रकारको कमिसनको खेल नगर्ने भन्दै उहाँले अनियमितता भएमा आफू झुन्डिन तयार रहेको बताउनुभयो।
कार्यक्रममा मन्त्री आलेले ग्राउन्डेड भएको जहाजहरूलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराउनुभयो।
‘निगमको अध्यक्षज्यूलाई निर्देशन दिएको छु। तपाईहरु छिटोभन्दा छिटो बिजनेश प्लान ल्याएर कम्तिमा १५ वटा जहाजजति खरिद गरेर ल्याउनु पर्ने आवश्यकता छ।, मन्त्री आलेले भन्नुभयो, विगतको जस्तो जहाज ल्याएर एयरपोर्टमा राख्ने, सबै पार्टीका मान्छेलाई बोलाउने र त्यहाँ भाषण गर्न, उडाउने योजना नभएर थन्क्याएर राख्ने प्रवृत्ति दोहोरिने छैन । नेपाललाई पर्यटनको केन्द्र बनाउन निगमसंग आन्तरिक र बाह्य उडानमा थप जहाज चाहिन्छ ।
मन्त्री आलेले अबको जहाज खरिद प्रक्रिया पारदर्शी हुने र त्यसमा कुनै कमिसनको खेल नहुने बताउदै भन्नुभयो, यो जहाजमा एक रुपैयाँ पनि तलमाथि भएको छ भने राजनीतिबाट सन्यास मात्र होइन, प्रेम आले झुन्डिन तयार छ भनेर म भन्न चाहान्छु। त्यसको लागि हामीले गृहकार्य गरिराखेका छौँ। निगमलाई भनेको छु, छिटो गृहकार्य गर्नुस्। ग्राउन्डेड भएको जहाज बनाएर उडाउनुस्। मर्मत गरेर उडाउनुस् भनेर मैले भनिराखेको छु।’
मन्त्री आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने बताउनुभयो। उहाँले भैरहवा विमानस्थललाई सरकारले छिटोभन्दा छिटो टेष्ट फ्लाइट सञ्चालनमा ल्याउन चाहेको उल्लेख गर्नुभयो ।


















