Prakash Adhikari December 31, 2021

 

काठमाडौं, १६ पौष । आगामी फेब्रुअरी १५ देखि ओमानमा आयोजना हुने टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको पहिलो चरणको बन्द प्रशिक्षणको लागि नेपाल क्रिकेट संघले ३० सदस्यीय टोलीको घोषणा गरेको छ।

क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिमको छनोट गरेका हुन्।

बन्द प्रशिक्षण जनवरी २ देखि काठमाडौँमा हुने भएको छ।

नेपाली राष्ट्रिय टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा बन्द प्रशिक्षणको लागि छनोट भएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भूर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, बिक्रम सोब, भीम शार्की, रोहित पौडेल, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह छन्।

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका सागर ढकाल, विवेक यादव, जितेन्द्र मुखिया, भीम सार्की, राजेश पुलामी, नन्दन यादवसौरभ खनाल, हरिशंकर शाह, किशोर महतो, प्रदीप ऐरीले टिममा स्थान बनाएका छन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा खेल्ने भएको छ। हाल बिग ब्यास लिग खेलिरहेका सन्दीप लिगको समाप्ति पछि जनवरीको अन्तिममा साता नेपाल आईपुग्ने तालिका रहेको छ।

टी २० विश्वकप २०२२ मा कुल १६ टोली सहभागी हुँदैछन् । प्रतियोगिताका सुपर १२ टोलीको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलियासहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश सुपर १२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्।

त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालिफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालिफायरमा कुल १६ टोली सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समूहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ।

ग्लोबल क्वालिफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालिफायर ‘बी’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालिफायरमा उत्कृष्ट हुने दुई।दुई टिम टी २० विश्वकप २०२२ मा छनोट हुनेछन्।

टी ट्वान्टी विश्व कप ग्लोबल छनोट (ए) मा नेपालसहित आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएई सहभागी हुँदैछन्।

त्यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालिफायर ‘बी’ मा आयोजक जिम्बाब्वेसहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्।

सबै टिमले एक अर्का बिरुद्ध एक । एक खेल खेलेपछि समूहका उत्कृष्ट दुई टिम विश्वकपका लागि चयन हुनेछन्।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी २० विश्वकप खेलेपछि नेपाल टी २० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टी २० विश्वकप क्वालिफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टी २० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टी २० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

Share Now

Leave a comment.