नयाँदिल्ली(भारत), १७ पौषm(बीबीसी) । भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ।
शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२ हजार ७ सय ७५ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ४ सय ६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो।
त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ।
यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६ हजार ७ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २ सय २० जनाको मृत्यु भएको जनाएको थियो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ।
चिन्ता
गत एप्रिल र मे महिनामा भारतमा कहालीलाग्दो दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक सरदर चार लाख मानिसमा कोभिड पुष्टि भएको थियो।
त्यसयता सङ्क्रमितको सङ्ख्या उल्लेख्य घटेको थियो। कैयौँ महिना दैनिक १० हजारभन्दा कम सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।
तर अधिकारी र विज्ञहरूले निकै सङ्क्रामक ओमिक्रोन भेरिअन्टले तेस्रो लहर सिर्जना गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या १ हजार ४ सय नाघेको छ।
मुम्बई रहेको महाराष्ट्र राज्यमा अहिलेसम्म सबैभन्दा धेरै ४ सय ५४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। दिल्लीमा ३ सय ५१, तामिलनाडुमा १ सय १८, गुजरातमा १ सय १५ र केरलामा १ सय ९ जनामा पनि ओमिक्रोन देखिएको छ।
नेपालसँग सीमा जोडिएकामध्ये तीन राज्यमा ( पश्चिम बङ्गाल (१७), उत्तर प्रदेश (८) र उत्तराखण्ड (४)( पनि ओमिक्रोनबाट सङ्क्रमण थपिएका छन्।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अहिले भारतमा दैनिक सङ्क्रमण पुष्टि दर २.०५ प्रतिशत पुगेको छ। साप्ताहिक पुष्टि दर १.१० प्रतिशत छ।
नेपालमा सरकारले अहिलेसम्म केवल तीन जनामा ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि गरेको छ।
भारतमा चिन्ता धेरै
यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले ओमिक्रोनबाट सङ्क्रमित थोरै मानिसलाई यसअघिका अन्य भेरिअन्टको तुलनामा अस्पतालको स्याहार आवश्यक पर्ने देखाएका छन्।
तर यसको सङ्क्रामक प्रवृत्तिका कारण विज्ञहरूले सजग रहन सुझाएका छन्।
दक्षिण भारतको एर्नाकुलम मेडिकल कलेजमा पल्मनरी तथा सघन स्याहार विभागको नेतृत्व गर्ने डा. ए फताउद्दिनले आईसीयूहरूमा दोस्रो लहरमा जस्तो उच्च वृद्धि वा प्रवृत्ति देखिने सम्भावना कम रहने ठान्नुभएको छ।
डा.फलाउद्दिन भन्नुहुन्छ, ूतर निगरानीका लागि भए पनि अस्पताल भर्ना गर्नुपर्ने मानिसहरूको वृद्धि हुनसक्छ।ू
उहाँले चिन्तित हुनुपर्ने तीनवटा कारण औँल्याएका छन्।
योग्य जनसङ्ख्यामध्ये अहिलेसम्म भारतले ९० प्रतिशतलाई खोप लगाएको छ।
तर त्यो भनेको अझै १० करोडजति वयस्क जनसङ्ख्यासम्म अझै एउटा मात्रा पनि खोप नपुग्नु हो।
दशौँ लाख भारतीयमाझ मधुमेह, उच्च रक्तचाप र मोटोपनजस्ता समस्या छन् जसले उनीहरू सङ्क्रमित भएको खण्डमा गम्भीर समस्या हुने जोखिममा हुन्छन्।

सम्मुख छ निर्वाचन
पाँचवटा भारतीय राज्यले सन् २०२२ को सुरुतिर राज्यसभाका चुनाव गर्दैछन्।
सङ्क्रमितहरू बढिरहेका बेला गत साता निर्वाचन आयोगले निर्वाचनको मिति नसर्ने सङ्केत गरेको थियो।
भारतको सबैभन्दा ठूलो एवं राजनीतिक रूपमा महत्वपूर्ण मानिने उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित कैयौँ नेताहरूले र्याली र कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कोभिड भयो भने के गर्ने ?
ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने
हजारौँ मानिसहरू भेला भएका ती कार्यक्रममा धेरै सहभागीहरू मास्क नलगाईकन सहभागी भएका थिए।
पश्चिम बङ्गालमा दोस्रो लहरको अगाडि समेत कोभिड निर्देशिका उल्लङ्घन गर्दै राजनीतिक कार्यक्रम आयोजना गरिएको थियो।


















