Prakash Adhikari January 8, 2022

बालकोट(भक्तपुर), २४ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ ।

दुई नेताहरुबीच झण्डै एक घण्टा एकापसमा वार्ता भएको थियो ।

वार्ता सम्पन्न भएपछि पत्रकारहरुले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिंदै एमाले अध्यक्ष ओलीले वार्ता राम्रो भएको बताउनुभएको थियो ।

वार्तामा प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गनुभएको थियो।

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेटन शनिवार बिहान बालकोट पुग्नुभएको थियो ।

कुनै सहयोगी बिना दुई नेताहरुबीच सम्पन्न बार्तामा प्रधानमन्त्रीले ओलीलाई संसदमा विचाराधीन अमेरिकी परियोजना एमसिसी सम्झौता अगाडि बढाउन सहयोग गर्न समेत आग्रह गर्नुभएको बताइएको छ।

सत्तारुढ दलहरुबीचमा एमसिसीका सम्बन्धमा मतैक्यता नहुँदा यो संझौता संसदमा निणयार्थ पेश हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफूहरुले कारबाहीको निमित्त संसद सचिवालयमा पेश गरेका सांसदहरुको सूची टाँस नगरेर सभामुखले अन्याय गरेको आरोप लगाउदै आएका छन् ।

नेकपा एमालेले माधवकुमार नेपाल लगायत सांसदहरुलाई पार्टीबाट निष्काशन गरिएकोले सांसद पद नरहने गरी सूचना प्रकाशित गरिदिन सभामुखलाई निवेदन गरेका थिए । तर नेपाल लगायत एमालेको कारबाहीको सूचीमा पर्नुभएका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरी मान्यता प्राप्त गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेको पत्रको औचित्य सकिएको भन्दै त्यसलाई थन्क्याइदिनुभएको थियो ।

नेकपा एमालेले आफूबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको अस्तित्व अझै स्वीकार गरिरहेको छैन ।

यसैले पार्टीले कारवाहीको लागि लेखेको पत्रलाई टुंगोमा पुर्याउनु पर्दछ भन्ने उसले निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिष्कार गरेको थियो।

तर, सर्वदलीय बैठकमा सहभागी अन्य दलका नेताहरुले संसदको अवरोध हटाउन ओलीसँग छलफल गर्न आग्रह गरेका थिए।

यस पहिले सरकार सञ्चालनमा सहयोग पुर्याउन गठित राजनीतिक संयन्त्रका संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि एमाले अध्यक्ष ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट गर्नुभएको थियो ।

सो भेटले समस्या समाधान नभएपछि संयन्त्रको बैठकले प्रधानमन्त्री देउवालाई नै एमाले अध्यक्ष ओलीसंग भेटेर समास्याको समाधान निकाल्न सिफारिस गरेको थियो ।

यसअघि ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि बालकोट पुग्नुभएको थियो।

Share Now

Leave a comment.