Prakash Adhikari January 9, 2022

 

काठमाडौं, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि उहाँसंग निकट सम्पर्कमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु संक्रमणको जोखिममा पर्नुभएको छ ।

शनिबार माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले यसको जानकारी सार्वजनिक गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि साँझदेखि आइसोलेशनमा बस्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शनिवार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई उहाँकै निवास बालकोट पुगेर भेट्नु भएको थियो । दुई नेताबीच झण्डै एक घण्टा बिना सहयोगी भेटवार्ता भएकोले एमाले अध्यक्ष ओली पनि जोखिममा पर्नुभएको बताइन्छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो ।

सो बैठकमा प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।बैठकमा उपस्थित सत्ता गठबन्धनका प्राय सबै शीर्ष नेताहरु कोरोनाको उच्च जोखिममा पर्नुभएको छ । यस्तै बिहीबार पनि गठबन्धनको बैठक बसेको थियो ।

प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्नु भएको थियो । बिहीबार पनि प्रचण्डसहितका माओवादी केन्द्रका नेताहरुसंग भेटघाटमा रहनुभएका प्रधानमन्त्रीले त्यही दिन राष्ट्रपतिलाई पनि भेट गर्नुभएकोले उहाँ पनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुहुने भएको छ ।

अधिवेशनको भेटघाटबाटै सरेको आशंका

माओवादी केन्द्रका अध्यक्ष लगायतका नेताहरुलाई पार्टीको आठौं राष्ट्रिय महाधिवेशनका क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको छ । यही पौष ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा माओवादको महाधिवेशन चलेको थियो ।

देशभरबाट १ हजार ७ सय ४२ जना प्रतिनिधि माओवादीको राष्ट्रिय महाधिवेशनमा सहभागी भएका थिए । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए । त्यसबाहेक पार्टीको केन्द्रीय सदस्यहरुको चयन र जिल्ला तथा विदेशबाट आएका प्रतिनिधिहरु संगको एक्लाएक्लै भेटघाटका क्रममा सो पार्टीका चल्तापूर्जा नेताहरुमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।

हालसम्म माओवादी अध्यक्ष प्रचण्डसहित, नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, युवा नेताहरु रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुवोध श्रीपाली, पञ्चा सिंह, रमेश मल्ल लगायतमा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणकै कारण माओवादीको केन्द्रीय कार्यालय समेत बन्द गरिसकिएको छ ।

कोरोना संक्रमण बड्दै

नेपालमा पनि केही दिन यता कोरोना संक्रमण दर नै बढेको देखिएको छ । शनिबार मात्रै देशभर ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार २४ जनामा ओमिक्रोन पुष्टि भएको थियो । शुक्रबार सीसीएमसी निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न लागिपर्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

Share Now

Leave a comment.