Prakash Adhikari January 11, 2022

 

पोखरा(कास्की), २७ पौष । मोफसलको बहुप्रतिष्ठित आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण ६ माघदेखि सुरु हुने भएको छ ।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता १५ माघसम्म चल्ने जानकारी दिएको छ ।

प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १० टोली सहभागी हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विभागीय टोलीहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब सहभागी हुनेछन् । यस्तै, संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लबसँगै विदेशी टिम अमेरिकाको बिवाइएससी मिनेसोटा क्लब सहभागी हुनेछन् ।

सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’का अनुसार प्रतियोगिताबाट अनुमानित एक करोड ३६ लाख एक हजार रुपैयाँ आम्दानी र एक करोड ६ लाख ४८ हजार पाँच सय रुपैयाँ खर्च हुनेछ ।

प्रतियोगितामा बचत भएको रकम क्लबद्वारा पोखरा–१७ मा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालनका लागि खर्च गरिने उहाँले बताउनुभयो ।

हाल एकेडेमीमा तेस्रो ब्याचअन्तर्गत १४ जिल्लाका २४ बालक आश्रित छन् ।

अघिल्लो वर्ष सम्पन्न १९औँ संस्करणबाट १३ लाख ४९ हजार चार सय ४७ रुपैयाँ ३४ पैसा बचत भएको आयोजकले जनाएको छ । अघिल्लो वर्षको प्रतियोगिता सञ्चालनबाट ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा आम्दानी र ६३ लाख एक हजार एक सय ९९ रुपैयाँ २३ पैसा खर्च भई सो रकम बचत भएको महासचिव अधिकारीले बताउनुभयो ।

खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रतियोगिता प्रायोजन गरेको छ ।

Share Now

Leave a comment.