Prakash Adhikari January 11, 2022

काठमाडौं, २७ पौष । नेपालमा निजी क्षेत्रबाट स्थापित बिजुली व्यापार कम्पनी नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको छ ।

संझौता अनुसार नेपाली कम्पनी नेपेक्ससँग मनिकरण पावर लिमिटेडले ५ सय मेगावाट बिजुली किन्ने छ।

उक्त सम्झौता पत्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) आशिष गर्ग र मनिकरण पावर लिमिटेडका एमडी नवजीत सिंह कल्सीले हस्ताक्षर गर्नुभएको छ।

तर नेपेक्सले अझै सरकारबाट बिद्युत् व्यापार गर्ने इजाजत पाएको छैन।

इजाजत पाउनकै लागि कम्पनीले सम्झौता गरेको बताइएको छ।

सरकारले कम्पनीलाई बिजुली किन्ने कम्पनी तयार भएको निश्चित भएपछि मात्रै अनुमति दिने अघोषित शर्त राखेपछि कम्पनीले भारतीय कम्पनीलाई तत्काल बेच्न सक्ने गरी सम्झौता गरेको हो।

“हामीले लामो समयदेखि बिद्युत् व्यापार गर्ने कम्पनीको इजाजत दिन भन्दै सरकारसँग अनुमति माग्दै आएका थियौ। उक्त निवेदनका बारेमा नेपालको ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री र ऊर्जा सचिवले तिमीहरूको आधिकारिक क्रेता नभईकन कसरी लाइसेन्स दिनु भनेर पटक पटक भनेका कारण हामीले मनिकरणसँग सम्झौता गरेका हौ” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले भन्नुभयो।

Share Now

Leave a comment.