काठमाडौं, २७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा अहिले पनि सडक विस्तार भैरहेको छ भनेको ११ दिनपछि नेपालको प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोधमा वक्तव्य निकालेको छ ।
एमालेका परराष्ट्र विभाग प्रमुख राजन भट्टराईद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेपालको स्वामित्वमा रहेको भूभागमा यस्ता संरचना निर्माण कार्य रोकिनुपर्ने उल्लेख गर्दै भनिएको छ, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल अन्त्य हुनुपर्दछ ,सडक लगायत संरचना निर्माण तत्काल रोकिनुपर्दछ,वार्ताको माध्यमबाट यस विषयवस्तुलाई टुंग्याइनुपर्दछ र वार्ताबाट समाधान नखोजिदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न हुने नेकपा एमालेको अविचलित मान्यता छ ।”
सरकारको मौनतालाई रहस्यमय भन्दै विज्ञप्तिमा भनिएको छ, “तर राष्ट्रियतासंग सम्बन्धित यस्तो गम्भिर विषयमा सरकारको सन्देहास्पद मौनताले अनेकौ प्रश्न जन्माएको छ । हाम्रो पार्टी यस विषयमा भारतसंग अबिलम्ब सम्वाद गर्न, सबै खाले बलमिच्याई रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गर्दछ ।”


















