Prakash Adhikari January 17, 2022

 

अक्ल्याण्ड(न्युजिल्याण्ड), ३ माघ(बीबीसी) । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोटन हुँदा आएको सुनामीका कारण टोङ्गामा ठूलो क्षति पुगेको विवरण आएको छ।

तर सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन।

राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको थियो।

उक्त विस्फोटन सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको थियो।

ज्वालामुखी विस्फोटन भएपछि एक मिटरभन्दा अग्लो छालले टोङ्गाको तटीय क्षेत्रमा प्रहार गरेको थियो।

न्यूजील्यान्डले ज्वालामुखी र त्यसले सिर्जना गरेको सुनामीको प्रारम्भिक मूल्याङ्कनका लागि त्यहाँ आफ्नो एउटा विमान पठाएको जनाएको छ।

उक्त विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको छ भने त्यहाँ विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ।

रेडक्रसले बीबीसीलाई बताएअनुसार ज्वालामुखी विस्फोटन भएपछि ८० हजारजति मानिस प्रभावित भएका हुन सक्छन्।

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले सुनामीले उल्लेख्य क्षति पुर्‍याएको बताउनुभएको छ।

ज्वालामुखी

ज्वालामुखी

अहिलेसम्म कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। तर क्षतिबारे पर्याप्त सूचना आइसकेको छैन।

न्यूजील्यान्ड र अस्ट्रेलियाले निरीक्षण गर्न तथा क्षतिको आकलन गर्न विमानहरू पठाउन लागेका छन्।

आइतवार आर्डर्नले खरानीका कारण खानेपानीलाई दूषित पारेको विवरण आइरहेको भन्दै स्वच्छ पानी पठाउने काम महत्त्वपूर्ण हुने बताउनुभएको थियो।

न्यूजील्यान्ड डिफेन्स फोर्सले आफ्नो एउटा विमान त्यसतर्फ गइसकेको जनाएको छ।

फिजीमा रहेका रेडक्रसका एक अधिकारीले त्यहाँ तत्काल सहायता आवश्यक भएको बताउनुभएको छ।

“टोङ्गाभरि ज्वालामुखी विस्फोटन वा विस्फोटनले निम्त्याएका सुनामी तथा बाढीका कारण झन्डै ८०,००० जति मानिस प्रभावित भएको हाम्रो आशङ्का छ”, उहाँले भन्नुभएको छ, “उक्त घटना मानिसहरूलाई छक्क पार्नेगरी भएकाले परपरका टापुमा बस्ने मानिसबारे हामी चिन्तित छौँ। अनि हामी मानिसहरूबाट कुरा सुन्न चाहन्छौँ।”

अधिकारीहरूले सर्वसाधारण मानिसलाई बोतलको पानीमात्र पिउन र मास्क लगाएर बस्न भनेका छन्।

निकै परसम्म कम्पन महसुस

टोङ्गा

टोङ्गा

शनिवार पानीमुनिबाट ज्वालामुखी विस्फोटन हुँदा आकाशमा धुँवा र खरानीको विशाल मुस्को देखिएको थियो। ज्वालामुखिका कारण झन्डै १.२ मिटर (चार फिट) अग्ला छाल टोङ्गासम्म पुग्ने चेतावनी जारी भएको थियो।

विस्फोटन यति विशाल थियो कि त्यो टोङ्गाबाट २,३८३ किलोमिटरपर अवस्थित न्यूजील्यान्डसम्म सुनिएको थियो।

उक्त विस्फोटनपछि उत्पन्न कम्पन प्रशान्त क्षेत्र र बाहिरसम्मै महसुस गरिएको थियो।

ज्वालामुखीबाट निस्किएको छारोले ढाकिएको हुनाले टोङ्गा अहिले ूचन्द्रमाको जमिनजस्तोू देखिएको टोङ्गाका लागि न्यूजील्यान्डका एक कूटनीतिक दूतले बताउनुभएको छ।

विस्फोटन हुनुअघि र पछि के भयो ?

खरानीका कारण आकाश धुम्मिएको बेला होचा तटीय क्षेत्रमबाट मानिसहरू अन्यत्र भाग्न खोजिरहेको र ट्राफिक जाम भएको भिडिओहरू सार्वजनिक भएका छन्।

केही घण्टापछि टोङ्गामा इन्टरनेट र फोन लाइन बन्द भए। अनि त्यहाँ बस्ने एक लाख ५,००० मानिसको सम्पर्क बाह्य संसारसँग भङ्ग भयो।

शनिवार ठूलो विस्फोटन हुनुअघि केही दिनदेखि ज्वालामुखी सक्रिय भइरहेको थियो। टोङ्गाको मौसम निकायले केही क्षेत्रमा सल्फर र एमोनियाको गन्ध आएको जानकारी आएको भन्दै चेतावनी जारी गरेको थियो।

न्यूजील्यान्डकी प्रधानमन्त्रीले केही स्थानमा फेरि विद्युत् आपूर्ति गर्ने प्रयास भएको र मोबाइल फोनले बिस्तारै काम गर्न थालेको बताउनुभएको छ।

तर केही तटीय क्षेत्रको स्थिति अज्ञात छ।

भूउपग्रहबाट प्राप्त तस्बिरमा परपर रहेका केही टापु पानीमा पूरै डुबेको सङ्केत देखिन्छ।

विज्ञहरूका अनुसार हुङ्गा टोङ्गा (हुङ्गा(हाुआपाई ज्वालामुखी धेरै दशकयता उक्त क्षेत्रमा विस्फोटन भएको एउटा शक्तिशाली ज्वलामुखी हो।

उक्ता ज्वालामुखी विस्फोटनका कारण जापान, संयुक्त राज्य अमेरिकासहित कैयौँ देशमा सुनामीको चेतावनी जारी भयो। अमेरिकाका क्यालिफोर्निया र अलास्का राज्यका तटीय क्षेत्रसम्म बाढी पुग्यो।

 

Share Now