काठमाडौं, ६ माघ । आज अपरान्हका लागि निर्धारित सत्ता गठबन्धन समन्वय राजनीतिक संयन्त्रको बैठक स्थगन गरेर सत्तारुढ तीन दलका शीर्ष नेताबीच राजनीतिक परामर्श भएको छ ।
आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो ।
तीन नेताबीच प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनका सम्बन्धमा लामो छलफल भएको बताइएको छ ।
बैठक पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सञ्चारमाध्यमलाई बताउनुभए अनुसार निर्वाचन कसरी छिटो,छरितो र कम खर्चिलो ढंगले गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको थियो।
उहाँले प्रतिपक्षले संसद चल्न नदिएकोले अदालतबाट पुनस्थापित संसदलाई उपलक्धिमूलक बनाउन नसकिएको बताउदै संसद अवरोध गर्नेलाई जनताबाट सबक सिकाउन सबै निर्वाचन एकैचोटि गर्ने भन्ने विकल्पमा विमर्श चलेको छ।
सत्ता गठबन्धनमा सहभागी मुख्य दलहरु हामी चुनावमा जानुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् ।
निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे गठबन्धनको बैठक बोलाइएको छ।


















