Prakash Adhikari January 21, 2022

 

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह राष्ट्रका नाममा संबोधन गर्नुभएको छ ।

पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक देशका नाममा संबोधन गर्नूभएका देउवाले प्राणघातक कोरोना भाइरसबाट आम नागरिकको जीवन रक्षा गर्ने र लोकतन्त्रको संस्थागत विकास तथा रक्षाको लागि आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरु संसद भग गरेर शीघ्र प्रतिनिधिसभाको निर्वाचन गर्ने विचार प्रवाह गरिरहेकै बेला उहाँले भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग सहमति र संवाद कायम गरेर संघीय र प्रादेशिक व्यवस्थापिकालाई पनि सुचारु गर्ने विचार सार्वजनिक गर्नुभएको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्री देउवाले सबै निकायहरूलाई आगामी बर्ष हुने तीनै तहको निर्वाचनको लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो ।

 

उहाँले भन्नुभयो ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।

संसद् खुलाउने बाचा

संबोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संघीय र प्रदेश व्यवस्थापितकाका काम कारवाही र गतिविधिहरु सुचारु गर्ने बताउनुभएको छ।

उहाँले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

संबोधनको क्रममा प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ ।’

कोरोनाबाट जीवन रक्षा सरकारको प्राथमिक दायित्व

प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताउनुभयो ।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले पौष मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको उल्लेख गर्नुभयो ।

उहाँले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ खोप वितरण गरिएको बताउनुभयो ।

यसैगरी उहाँले सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अक्सिजनको पर्याप्त आपूर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ

 

Share Now

Leave a comment.