Prakash Adhikari January 24, 2022

 

काठमाडौं, १० माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गर्नुभएके छ ।

शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आयुष राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनी रहेको स्थानमा गई यथार्थ जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गई उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ ।

नेपाली दूतावासले रानासहित जेद्दामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो । आठमध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलबार नेपाल फर्किनेछन् ।

रानाको पनि नेपाल फर्किने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।

राना बिरामी परेपछि नेपाल फर्किने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभएको छ ।

रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले जानकारी दिनुभएको छ ।

मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिनुभएको छ ।

 

Share Now

Leave a comment.