काठमाडौं, माघ १२ । भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ।
भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा उहाँको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ।
सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ।
त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गर्नुभएको छ।
सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष यो दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । स्वतन्त्रता दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ ।
यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ ।पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो सम्मान मानिन्छ ।
यसपटक पद्म विभूषण पाउनेमा गएको डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिक जनरल विपिन रावतसहित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरको गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । रावत, सिंह र खेमकालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।
भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान पनि १९४७ कै अगस्ट १४ मा भारतबाट अलग्गीएको थियो । त्यतिबेला बंगलादेश र पाकिस्तान एउटै देश थिए । पछि फेरि सन् १९७१ मार्च २६ मा बंगलादेश पनि पाकिस्तानबाट अलग्गिएर छुट्टै स्वतन्त्र राष्ट्र बन्यो


















