जर्जिना रेनर्ड / बीबीसी न्यूज
लण्डन(संयुक्त अधिराज्य), १४ माघ । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने बाटोमा अघि बढेको छ।
फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण भएको थियो।
आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहिरह्यो।
खगोलास्त्री जोनाथन म्याकडोवेलले बीबीसी न्यूजलाई बताएअनुसार चन्द्रमामा अनियन्त्रित रूपमा रकेट बज्रिन पुग्ने अहिलेसम्मकै यो पहिलो ज्ञात घटना हुनेछ।
तर यसको असर ठूलो नहुने उहाँले बताउनुभएको छ।
सात वर्षदेखि अलपत्र
अन्तरिक्षमा मौसमसम्बन्धी भूउपग्रह पठाउने कामको सुरुवातका लागि प्रक्षेपण भएको यो रकेट आफ्नो लक्ष्य पूरा भएपछि सात वर्षदेखि पृथ्वीको उच्च कक्षमा अलपत्र थियो।
भविष्यमा अन्य ग्रहहरूमा पनि मानव बस्ती बसाउने मस्कको व्यापारिक अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस एक्सकै एउटा कामका लागि यो रकेट पठाइएको थियो।सन् २०१५ यता उक्त रकेटलाई पृथ्वी, चन्द्रमा र सूर्यका फरक फरक गुरुत्वाकर्षण शक्तिले तानेर राखेका थिए।
अमेरिकाको हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापक म्याकडोवेल फरक फरक गुरुत्वाकर्षण शक्तिका कारण यसले तय गर्ने बाटो ‘विश्रृङ्खल’ भएको बताउनुहुन्छ।
“यो मृत अवस्थामा छ र गुरुत्वाकर्षणको नियम मात्रै पछ्याइरहेको छ,” उहाँले भन्नुभयो ।
आफ्नो लक्ष्य पूरा गरेपछि पृथ्वीमा फर्कन आवश्यक ऊर्जा नभएका कारण अन्तरिक्षमै छोडिएका उपकरणहरूका लाखौँ अन्तरिक्ष फोहोरहरूकै रूपमा यो रकेट पनि रहेको थियो।
“पछिल्ला दशकहरूमा ५० वटा जति ठूला वस्तुहरूले अन्तरिक्षमा आफ्नो बाटो बिराइसकेका छन्। यस्तो त्यसअघि पनि कैयौँ पटक भएको हुनसक्छ, तर हामीले जानकारी नपाएका हुन सक्छौँ। यो पहिलो पुष्टि भएको घटना हुनेछ,” प्राध्यापक म्याकडोवेलले भन्नुभयो।
कसरी पत्ता लाग्यो
फाल्कोन ९ को सम्भावित दुर्घटनाबारे पत्रकार एरिक बर्जरले सबैभन्दा पहिले अन्तरिक्षसम्बन्धी वेबसाइट आर्स टेक्निकामा र तथ्याङ्क विश्लेषक बिल ग्रेले आफ्नो ब्लगमा उल्लेख गर्नुभएको थियो ।
यो रकेट आगामी मार्च ४ मा चन्द्रमाको सतहमा पुगेर ठक्कर खाएपछि विस्फोट हुनेछ।
“यो पछाडिपट्टि रकेटको इन्जिन भएको चार टनको खाली धातुको ट्याङ्की जस्तो मात्रै हो। तर कल्पना गर्नूस् त ५,००० माइल प्रतिघण्टाको वेगमा आएको वस्तु एउटा चट्टानमा बज्रँदा पक्कै खुशी त लाग्दैन नि,” प्राध्यापक डोवेलले भन्नुभयो।
रकेटले चन्द्रमाको सतहमा एउटा सानो खाडल बनाउनेछ।
सफ्टवेयरको प्रयोगबाट पृथ्वी नजिकका अन्तरिक्ष उपकरणहरू निगरानी गर्दै आएका बिल ग्रेका अनुसार यो रकेट ज्यानुअरी ५ मा पृथ्वीको नजिकैबाट झरेको थियो। उहाँका अनुसार यो मार्च ४ मा चन्द्रमाको पल्लो छेउमा बज्रनेछ।
खगोलशास्त्रीहरूको अनुसन्धान
सन् २००९ मा प्राध्यापक म्याकडोवेलसहित अन्य खगोलशास्त्रीहरूले चन्द्रमामा यस्तो आकारको रकेट ठोक्काएर परीक्षण गर्नुभएके थियो ।
चन्द्रमामा भएको ठक्कर र त्यसबाट बनेको खाडलको आकार सेन्सर प्रविधिबाट मापन गरिएको थियो।
प्राध्यापक म्याकडोवेल यो रकेटको ठक्करबाट वैज्ञानिकहरूले सिक्नुपर्ने कुरा केही नरहेको बताउनुुहुन्छ।
तर उहाँका अनुसार अन्तरिक्षमा छोडिएका कारण तैरिएर बसिरहेका भग्नावशेषहरू समय समयमा दुर्घटना हुँदा अहिले कुनै पनि गम्भीर परिणाम ननिम्तिए पनि भविष्यमा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।
“यदि हामी भविष्यमा चन्द्रमामा सहरहरू बसाउन चाहन्छौँ भने हामीले यो कुरामा पनि ध्यान दिन जरुरी छ। समस्या आइसकेपछि व्यवस्थापन गर्नुभन्दा अहिले त्यहाँ कम सङ्ख्या भएकै समयमा व्यवस्थापन गर्न सजिलो हुन्छ,” उहाँले भन्नुभयो।
त्यसो भए मार्च ४ सम्म के हुन्छ त ? उक्त रकेटले गुरुत्वाकर्षणको नियम पछ्याउँदै अन्तरिक्षबाट चन्द्रमामा पुगेर बज्रनेछ।


















