Prakash Adhikari February 2, 2022

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य फेरि समायोजन गरेको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलम प्रतिलिटर रु ३ ले मूल्य वृद्धि गरेको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ ।
यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो । अहिले मूल्य बढेर डिजेल,पेट्रोल र मट्टितेलको मूल्य सर्वाधिक उचाईमा पुगेको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य प्रति लिटर रु ११६ कायम गरेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभएको छ ।

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१। ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०।०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार अहिले बढेको मूल्य पछि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १३। २३ पैसा र डिजलमा प्रतिलिटर रु ११।१३ पैसा घाटा हुन्छ भने मट्टितेलमा रु १८। १२ पैसा, आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर रु १०।५० पैसा, बाह्यतर्फको हवाई इन्धनमा प्रति लिटर रु ३२ ।७२ पैसा नाफा हुन्छ ।

हालको मूल्य अनुसार १५ दिनमा निगमलाई ग्यासको बिक्रीबाट करिब १ अर्ब घाटा हुन्छ भने डिजेलबाट १ अर्ब १ करोड र पेट्रोलबाट रु ४३ करोड । हाल कायम गरिएको मूल्यबाट निगमलाई मट्टितेलमा १५ दिनमा रु २ करोड, आन्तरिक तर्फको हवाई इन्धनमा रु ३ करोड, बाह्यतर्फको हवाई इन्धनमा रु १६ करोड नाफा हुन्छ ।

निगमले मूल्य समायोजनपछि पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन इण्डियन आयल कर्पोरेशनलाई तिर्न मासिक साढे ४ देखि ५ अर्ब रुपैया ऋण लिनुपर्ने जनाएको छ ।

निगमले पछिल्लो समय मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैया निकालेर इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गरेको थियो ।

मूल्य समायोजनपछि पनि भारतको सीमावर्ति बजार रक्सौलभन्दा नेपालको सीमावर्ति बजार बीरगञ्जमा पेट्रोल रु ३२।२४ पैसाले, डिजल रु २५।३१पैसाले र एलपी ग्यास रु ५०।६५ पैसाले र आन्तरिक तर्फको हवाई इन्धन भारतको कोलकोताभन्दा प्रतिलिटर रु २८।७९ पैसाले सस्तो भएको निगमले दावी गरेको छ ।

 

Share Now

Leave a comment.