काठमाडौं, १९ माघ । नेपालमा विगत २४ घण्टामा थप ६ हजार ६ सय ३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा ७ हजार ५ सय ५५ जना सङ्क्रमणमुक्त भएको बुधवारको तथ्याङ्कले देखाएको छ।
अहिलेको वृद्धिसँगै देशभरि भएका पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २ सय ९१ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो। दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो।
“गत साताभन्दा यो साता ११.८ प्रतिशतले कमी आएको भए पनि अझै सङ्क्रमण दर ३४ प्रतिशत रहेको छ”, मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताउनुभयो।
“सङ्क्रमण दरमा कमी आए पनि उच्च जोखिम कायम रहेको” भन्दै डा. मिश्राले स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न अनुरोध गरनुभयो।
कहाँ बढे सङ्क्रमित ?
मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार १ सय २३ सङ्क्रमित फेला परेका छन्। अरू सङ्क्रमित विभिन्न जिल्लमा भेटिएका हुन्।
तीमध्ये ८ सय ६८ काठमाडौं जिल्लाका, ८५ भक्तपुर जिल्ला र १ सय ७० ललितपुर जिल्लाका हुन्।
अहिले काठमाडौंमा मात्र ५ सय भन्दाबढी सङ्क्रमित र दुई वटा जिल्लामा २ सय भन्दाबढी सक्रिय सङ्क्रमित छन्।
तर सामान्य लक्षण देखिएका मानिस नगएकाले सङ्क्रमितको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी भएको विज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।
चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।
प्रवक्ता मिश्राले भन्नुभएको छ “चौबिस नमुनाको जीन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र तीन वटामा डेल्टा भेरिअन्ट देखिएको छ।”
के छ अरू तथ्याङ्क ?
विगत २४ घण्टामा ६ हजार ४ सय ९९ पीसीआर र ५ हजार ८३ एन्टिजन विधिबाट गरी कुल ११ हजार ५ सय ८३ वटा परीक्षण भएका थिए।
तीमध्ये पीसीआर गरिएका र एन्टिजन विधिबाट गरिएका ३३.९ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
उक्त अवधिमा ७ हजार ५ सय ५५ जना सङ्क्रमितहरू निको भए भने कोभिड १९ सँग सम्बन्धित कारणले १२ जनाको ज्यान गएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।


















