काठमाडौं, १९ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच शनिवार भएको दुई चरणको वार्तामा गठबन्धन पनि नटुटाउने र एमसीसीमा सहमति जुटाउने समझदारी बनेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले वर्तमान सत्ता गठबन्धन एक विशिष्ट परिस्थितिमा बनेको र संविधानको र लोकतान्त्रिक पद्धतिको लागि यो गठबन्धनलाई संसदीय चुनावसम्मै लैजान आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले गठबन्धनका नेताहरुलाई जिम्मेवार हुन पनि आग्रह गर्र्नुभयो ।
देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसँग तीन साताअघि भएको भेटमा सत्ता गठबन्धन तोड्नेबारे कुरा भएको भनी मिडियामा आएका समाचारमा कुनै सत्यता नभएको पनि सत्ता साझेदार दलका अध्यक्षहरुलाई बताउनुभएको थियो।
संसदमा जारी एमालेको अवरोध खुलाउनेबारे छलफल गर्न गठबन्धन दलका नेताहरूकै सुझावमा प्रधानमन्त्री देउवा पौष २४ गते ओली निवास बालकोट पुग्नुभएको थियो।
ओलीसंगको भेटमा आफूले संसद अवरोधबारे मात्र कुरा गरेको सफाई प्रधानमन्त्री देउवाले माओवादी अध्यष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई दिनुभएको थियो ।
सत्ता गठबन्धनका दलहरु एमसीसीमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता के.पी. ओलीको लाईन एकै खालको भएकोले दुई पार्टी मिलेर आफूहरुलाई पाखा पार्ने बिषयमा कुराकानी त भएन भनेर आशंका गरिरहेका छन् ।
प्रधानमन्त्रीले गठबन्धन नतोड्ने बचन दिएपछि उहाँले मुलुकको विकासको लागि आएको अनुदान लिने एमसिसी संझौता संसदमा टेबल गर्न र सम्भव भएसम्म पास गर्न दुई नेताको सहयोग माग्नुभएको थियो।
एमसीसी पारित गर्नै उपाय खोज्ने सहमतिका साथ बिहानको बैठक सकिएको थियो।
बैठकलगत्तै अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका नेता नेपालले पाँचदलीय गठबन्धन नटुट्ने जिकिर गर्नुभएको थियो ।
उहाँले बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूबीचको छलफलमा गठबन्धन दिगो रूपमा लैजाने समझदारी भएको पनि बताउनुभयो ।
हामीले पाँचदलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्, नेपालले भन्नुभयो, यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन।”
एमसिसीको निकासबारे उपाय खोज्न साँझ फेरि तीन दलका शीर्ष नेता बालुवाटारमा छलफलमा बस्नुभएको थियो।
सूत्रहरुले एमसीसी पारित गर्नै विभिन्न उपायबारे छलफल भएको बताउदै सत्ता गठबन्धन एमसीसीलाई फिर्ता पठाउन नहुनेमा सहमत भएको बताइएका छन्। नेताहरुबीच आवश्यक परे संसदको बैठक फेरि पछाडि सारेर भए पनि सहमति कायम गरिने समझदारी भएको बताइएको छ ।
यसअघि माघ १६ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीनै दलका शीर्ष नेता र एमसिसीबारे अध्ययन गर्न गठित समितिका सदस्यहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिच एमसिसीबारे छलफल भएको थियो।
प्रधानमन्त्रीले संसदबाट एमसिसी तुरून्तै पास गरेर जानुपर्ने प्रस्ताव राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले यथास्थितिमा एमसिसी पास गरेर जान नसकिने अडान लिनुभएको थियो ।
आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास गर्नेबारे केही महिनाअघि अमेरिकालाई पत्र लेखेको भए पनि प्रचण्ड त्यसबाट पछि हट्न खोजेकोले बैठकमा प्रधानमन्त्री देउवा झोक्किनुभएको थियो।
गठबन्धनका नेताहरुलाई एमसीसी पास नगर्दा त्यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयतामा ह्रास आउने र भविष्यमा विदेशी सहयोग परिचालन गर्न कठिन पर्ने तर्क प्रधानमन्त्रीले राख्द आउनुभएको छ । उहाँले एमसीसी अगाडि नबढ्ने भए सत्ता गठबन्धन अप्ठ्यारोमा पर्न सक्ने भन्दै नेपाल र प्रचण्डलाई सचेत पनि गराउनुभएको थियो।


















