उमाकान्त खनाल
विर्तामोड.झापा), २० माघ । केही दिन अघि झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर १ को त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थी खाजा खाइरहेका थिए।
हेर्दा जाउली जस्तो पानीको मात्रा बढी भएको देखिने खाजा केही विद्यार्थीले खाए, केहीले त्यतिकै छोडेर गए।
खाजा बनाएर खुवाउनेलाई सोध्दा १५ रुपैयाँको खाजा यहाँ भन्दा कस्तो बनाएर दिनु भन्ने जवाफ आयो।
त्यसको दुई दिनपछि बुद्धशान्तिकै बुद्ध आदर्श माविमा पुग्दा केही अभिभावक विद्यार्थीलाई दिइने खाजाको गुणस्तरबारे कुरा गरिरहेका थिए।
खाद्य सामग्री तथा इन्धनको खर्चको हिसाब गर्दै उनीहरूले भने, ूकमभन्दा कम दिएको रकममा पनि अनियमितता भएको जस्तो लाग्दै छ।ू
ु
दिवा खाजाको रकम
सङ्घीय सरकारले एक वर्षमा १ सय ८० दिनका लागि प्रतिविद्यार्थी कर्णालीका पाँच जिल्लामा २० रुपियाँ र अन्यमा १५ रुपैयाँ खाजा खर्चको निम्ति रकम दिँदै आएको छ।
विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन उक्त रकम स्थानीय तहलाई पठाउने गरिएको हो।
सकेसम्म विद्यालयमै खाजा बनाएर खुवाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन्।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार खाद्यसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अध्ययन र सिफारिसमा १५ रुपैयाँमा कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने व्यवस्था गरिएको हो।
तर विद्यालयहरूले आफूले नबनाई क्यान्टिन सञ्चालन गर्नेहरूलाई खाजा खुवाउन लगाइरहेका छन्।
त्यसैले खाजाको गुणस्तर तथा पोषक तत्त्व नपुर्याएर खुवाइस् भन्दा खुवाए भनेजस्तो गरिएको अभिभावकहरूले गुनासो छ।
१५ रुपैयाँमा खाजा
तर स्थानीय तहहरूले गुणस्तरयुक्त खाजा खुवाउन सामुदायिक विद्यालयहरूलाई भनेको बताउने गरेका छन्।
स्थानीय तहहरूका अनुसार दैनिक फरक(फरक खानेकुरा विद्यार्थीलाई उपलब्ध गराउन निर्देशन दिने गरिएको छ।
झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले भन्नुभयो, ूखिर, खिचडी, रोटीलगायत खानेकुरा दैनिक फरक(फरक तरिकाले खुवाउन भनेका छौँ।ू
केही दिन अघि बुद्धशान्तिस्थित गणेश माध्यमिक विद्यालयमा विद्यार्थीलाई खाजा खुवाउने बेलामा पुग्दा हरेक विद्यार्थीको निम्ति आधा कचौरा खाजा तयार गरेर राखिएको थियो।

खाजा
चियाको एक कपको मूल्य पनि २० रुपैयाँ पर्ने गरेको उल्लेख गर्दै १५ रुपियाँमा पोषणयुक्त खाजा खुलाउन मुस्किल हुने अभिभावकको भनाइ छ।
अभिभावक रञ्जु भट्टराईले खाजाका नाममा सरकारले विद्यार्थीलाई ‘अन्याय’ गरेको टिप्पणी गर्दै भन्नुभयो, “जाउली भनेर दिइन्छ। त्यस जाउलीमा चामलभन्दा तीन गुणा बढी पानी हुन्छ। यो न्याय हो कि अन्याय हो ?”
यस विषयमा स्थानीय तहले गम्भीर अनुगमन गर्नुपर्ने उहाँको माग छ।
१५ रुपैयाँले पुग्छः शिक्षा मन्त्रालय
स्थानीय स्तरमा पाइने खाद्यान्नबाट कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्न स्थानीय तहलाई भनिएको शिक्षा मन्त्रालयकले जानकारी दिए।
धेरै जनाका लागि एकै पटक खानेकुरा बनाउँदा दिइएको १५ रुपैयाँ एक जना विद्यार्थीका लागि पर्याप्त हुने मन्त्रालयका प्रवक्ता शर्माले बताए।
उहाँले भन्नुभयो, “यो त्यतिकै ल्याइएको होइन। खानेकुराको उपलब्धता, मूल्य सबै निर्धारण गरेर यो कार्यक्रम ल्याइएको हो। खाजा वितरणमा इमानदारी देखाए नपुग्ने भन्ने प्रश्नै आउँदैन।”
उहाँले विश्व खाद्य कार्यक्रमलगायत सङ्घसंस्थाको सिफारिसमा उक्त कार्यक्रम ल्याइएको बताउनुभयो।
अभिभावकको गुनासो र गुणस्तरहीन खानेकुरा वितरणको सम्भावना भए त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ।(बीबीसीबाट)


















