Prakash Adhikari February 6, 2022

 

खलंगा(दार्चुला), २३ माघ । नेपालले महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी एकतर्फी तटबन्ध बनाएको विषयमा भारतसंग कुरा उठाएको छ ।

दुई देशका सीमा अधिकारीहरुको बिहीवार सम्पन्न बैठकमा नेपालले कुरा उठाएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतका सीमा अधिकारीको बैठक आयोजना गर्दै तटबन्धको विषयमा भारतको ध्यानाकर्षण गराएको थियो।

बिहीबार दार्चुला जिल्ला प्रशासन कार्यालयले दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीबीच भर्चुअल माध्यममार्फत बैठक आयोजना गरेको थियो।

त्यही बैठकमा नेपालसँग नसोधी नदीको बहाव दार्चुला सदरमुकाम खलङ्गातिर फर्किने गरी महाकाली नगरपालिका–४ मा भारतले बनाएको तटबन्धको विषय प्राथमिकतासाथ उठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभएको छ।

‘भोलिका दिनमा नेपालतिर केही असर नपर्ने गरी तटबन्ध बनाउन भनेका छौँ,’ उपाध्यायले भन्नुभएको छ, ‘उनीहरुले पानीको बहावमा केही असर नपर्ने गरी तटबन्ध निर्माण भइरहेको प्रतिवद्धता जनाएका छन्।’

बैठकमा नेपालक प्रशासकहरुले नेपालतर्फ असर पर्ने गरी संरचना निर्माण नगर्न भारतीय पक्षलाई आग्रह गरेका थिए । नेपाली भूभागमा तटबन्धले केही क्षति नगर्ने भनेर भारतीय पक्षले बैठकमा आश्वस्त पार्ने कोशिस गरेको थियो।

दार्चुला प्रशासनले तटबन्धको विषयमा भारतसंग यस पहिले नै पत्राचार गरेको थियो तर भारतकातर्फबाट जवाफ आएको थिएन।

‘तटबन्धबारे जानकारी दिन ढिला भयो। अब केही दिनमै निर्माण भइरहेको तटबन्धको पूर्ण जानकारी दिन्छौ भनेर भारतीय अधिकारीले जवाफ दिएका छन्’, प्रमुख जिल्ला अधिकारी उपाध्ययले भन्नुभयो।

बैठकमा १४ फेब्रअरीमा हुने भारतको विधानसभा निर्वाचन, कोरोना नियन्त्रण, नेपाल–भारत जोड्ने मोटरेबल पक्की पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमूल्यन र सीमा पुलहरू खोल्ने लगायत विषयमा छलफल भएको थियो।

बैठकमा भारतीय पक्षले विधानसभा निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापन, सीमा व्यवस्थापन तथा कोरोना नियन्त्रणमा समन्वय गर्नुपर्ने विषय राखेको थियो।

केही दिन अगाडि सम्झौता भएको नेपाल–भारत पक्की पुलको काम विधानसभा चुनावपछि सुरु गर्ने भारतीय अधिकारीले बताएका थिए।

नेपाली प्रशासकहरुले दार्चुला र बैतडीमा ५ बजेपछि नाका बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने क्रममा सास्ती खेप्नु परेकोले ७ बजेसम्म नाका खोल्न भारतीय अधिकारीलाई आग्रह गरेको थियो।

विधानसभा चुनावपछि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नाका खोल्ने भारतीय अधिकारीहरुले प्रतिवद्धता जनाएका छन् । ‘मुद्रा सटहीबारे पनि छलफल भएको थियो। भारतमा नेपाली एक हजार रुपैयाँ ६ सय भारुमा साटिइरहेको गुनासो आएको थियो,’ सीडीओ उपाध्यायले भन्नुभयो, ‘हामीले ६ सय २५ भारुमा नै कारोबार गर्न सहजीकरण गरिदिन आग्रह गरेका थियौँ।’

Share Now

Leave a comment.