Prakash Adhikari February 6, 2022

 

मुम्बई(भारत), २३ माघ(बीबीसी) । प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

यसै वर्षको ज्यानुअरी महिनामा कोभिड १९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

अवस्थामा सुधार नभएपछि उहाँ हप्तौँदेखि सघन उपचार कक्षमा हुनुहुन्थ्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको”बताउनुभएको छ।

मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने” बताउँदै “दशकौँसम्म भारतीय चलचित्र जगत्लाई नजिकबाट नियालेकी ” बताउनुभएको छ।

आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा लताले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाउनुभयो।

उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्‍यो।

उहाँको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो।

पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उहाँले सङ्गीत सिक्न थाल्नुभएको थियो। दिनानाथ त्यस बेला थिएटर कलाकार हुनुहुन्थ्यो।

लता मङ्गेशकर

मराठी चलचित्रमा पहिलो कदम
पिताको मृत्यु पश्चात् उहाँको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्‍यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थाल्नुभयो।

परिवारलाई सहयोग गर्नका लागि उहाँले केही चलचित्रमा छोटो भूमिका निर्वाह गर्नुभयो तर उहाँले पछि त्यसमा आफ्नो मन नलागेको बताउनुभयो र गायनमै फर्किनु भयो।

“म सबैभन्दा खुसी गाउँदा हुन्थेँ” , अन्तर्वार्ताका क्रममा उहाँले भन्ने गर्नुहुन्थ्यो।

सन् १९४९ मा महल चलचित्रको “आएगा आनेवाला” बोलको गीतले उहाँलाई फड्को मार्ने अवसर दियो।

हिन्दी चलचित्रमा यो नै उहाँको पहिलो गीत थियो।

लता मङ्गेशकर

“पहिलो हिन्दी गीते लगत्तै सबै नायिका उहाँको आवाज चाहन्थे। तर लता सधैँ व्यस्त । केही भाग्यमानी सङ्गीतकारहरूले मात्रै उनलाई गीत गाउन लगाउने अवसर प्राप्त गर्थे”, सङ्गीतकार मोहम्मद जहुर खय्याम स्मरण गर्नुहुन्छ।

त्यसपछिका दशकमा उहँले भिन्न पुस्ताका प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौँ गीतहरूमा आवाज दिनुभयो।

सन् २००१ मा उहाँले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गर्नुभयो।

सन् २००४ मा उहाँको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले बीबीसीमा लेख्नुभयो कि “मैले उहाँको आवाजमा भगवान्को आशीर्वाद देखे।”

मङ्गेशकरले विवाह भने गर्नुभएन। उहाँकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुनुहुन्छ।

मङ्गेशकरले नेपाली भाषामा पनि गीत गाउनुभएको छ।

Share Now

Leave a comment.