विराटनगर(मोरड.), २४ माघ । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्रकुमार राईले ८ मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रदेश १ को मन्त्रिपरिषद् १३ सदस्यीय बन्न पुगेको छ ।
प्रदेश १ मा माओवादी केन्द्रबाट उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगर कृषि तथा पशुपक्षी विकासमन्त्रीमा नियुक्त हुनुभएको छ भने । एकीकृत समाजवादीका तर्फबाट राजन राई सामाजिक विकासमन्त्री, खिनु लङ्वा (लिम्बू) पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चारमन्त्री हुनुहुन्छ ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रतापप्रकाश हाङ्गाम र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबारै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी पाँचदलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयमा भने मन्त्रीका अलावा राज्यमन्त्री राखिएको छ । मन्त्रिपरिषद्मा कांग्रेसलाई ५, एकीकृत समाजवादीलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ र जनता समाजवादी पार्टीलाई एक मन्त्रालय परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री हुनुहुन्छ ।
प्रदेश १ मा जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका नेता इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र कांग्रेसका प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।


















