Prakash Adhikari February 7, 2022

 

बीरेन्द्रनगर(सुर्खेत), २४ माघ । कर्णालीको मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छ । आइतबार पाँच मन्त्री नियुक्त भएर सपथ लिएसँगै कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सबैभन्दा पिछडिएको कर्णालीमा अब ८ जना मन्त्री भएका छन् ।

१६ कार्तिकमा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेसका जीवनबहादुर शाहीले गठबन्धनभित्र सहमति कायम गरेपछि मात्र यसलाई पूर्णता दिनुभएको हो ।

आइतबार एकीकृत समाजवादीका तर्फबाट पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त हुनुभएको छ । कांग्रेसका तर्फबाट यज्ञबहादुर बुढाक्षेत्रीले सामाजिक विकासमन्त्री र हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट छिरिङडम्डुल (कार्चेन( लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गणेशप्रसाद सिंह ऊर्जा तथा जलस्रोतमन्त्री बन्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यस पहिले मुख्य मन्त्री शाहीले एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्ति गर्नुभएको थियो ।

मधेशमा थपिए एक राज्यमन्त्री

मधेश प्रदेशमा नेकपा समाजवादीलाई थप एक राज्यमन्त्री, रायले पाए जिम्मेवारी -  Nepal Face

मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उहाँलाई आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

राज्यमन्त्री यादव रौतहट क्षेत्र नं. ३ (क) बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । मधेस प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री छन् ।

Share Now

Leave a comment.