Prakash Adhikari February 14, 2022

 

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से भवनमा बिहान ९ बजे बैठक बस्ने भएको छ।

बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशनसंग गरिएको संझौताका विषयमा छलफल हुने बताइएको छ।

राणाविरुद्ध कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन्।

त्यस्तै अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट सडक विस्तार र विद्युतको प्रशारण लाईन निर्माणका लागि प्राप्त ६०अर्ब रुपैयाभन्दा बढीको अनुदान सहयोगको स्वीकार गर्ने सम्बन्धमा संसदमा दर्ता भएको संझौता निणायार्थ पेश गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रधानन्यायाधीश विरुद्ध आइतबार संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता भएको छ।

दर्ता भएको महाअभियोग प्रस्तावमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीका प्रस्तावकहरुसहित ९८ जना सांसदहरुको हस्ताक्षर छ।

Share Now

Leave a comment.