काठमाडौं, २ फागुन ।प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ ।
सर्वदलीय बैठक अहिले अहिले सिंहदरबारमा बसिरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले यस विषयमा छलफल चलाउन र संसदको नियमित बैठक सञ्चालनका लागि राजनीतिक सहमति जुटाउन आज सर्वदलीय बैठक आयोजना गर्नुभएको हो ।
दिउँसो २ बजेदेखि आरम्भ भएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ।
सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाउनुभएको थियो। तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का प्रतिनिधि बैठकमा उपस्थित हुनुभएको छैन ।


















