काठमाडौं, ४ फागुन । प्रशारण लाइन निर्माण र सडक विस्तारको लागि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट ६० अर्ब रुपैयाभन्दाबढी अनुदान सहयोग लिन गरेको संझौता संसदमा टेबुल हुन नदिन सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनहरुबाट आज आह्वान गरिएको संसदभवन घेराउ र प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो ।
प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा सीमित राख्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा समेत प्रहार गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रदर्शनकारीले ब्यारिकेड तोडेर अगाडि बढ्न खोजेपछि दुई राउन्ड पानीको फोहरा प्रहार गरिएको बताउनुभयो।
प्रदर्शन क्रममा उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न तम्सिने ४० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभएको छ।
त्यसमध्ये चार जना महिला छन्।
‘उहाँहरूले ब्यारिकेड तोडेर अघि बढ्न खोजेका थिए। ढुंगामुढा पनि भएपछि नियन्त्रणमा लिएका छौं,’ राठौरले भन्नुभयो, ‘पानीको फोहरा हानेपछि भीड तितरबितर भएको छ।’
पक्राउ पर्नेमा धेरैजसो वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरेका थिए।
बानेश्वरमा भइरहेको प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो।
विप्लवसहितका केही राजनीतिक दलले एमसीसी कै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका थिउ।
बिहानदेखि बन्द गराउँदै हिँड्ने ५२ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट ३७ जना, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ।


















