काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन फेरि दुई दिन सरेको छ ।
यस अगाडि १३ फागुनका लागि निर्धारित अधिवेशन १५ फागुनका लागि सरेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको जानकारी दिनुभएको छ।
‘मधेशका जिल्लाहरूबाट निधिको जन्मदिनमा नगरौं भन्ने कुरा आयो। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि सार्दा हुन्छ भनेपछि दुई दिन सारेका हौं,’ रिजालले भन्नुभयो।
रिजालका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।
मधेश प्रदेशका बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,महोत्तरी,सिरहा र सप्तरीसहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी छ।


















