Prakash Adhikari February 17, 2022

 

काठमाडौं, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीसहित पाँच नेताविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै नेताहरु पद्मा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो।

नेकपा (एकीकृत समाजवादी) पार्टीका विद्यार्थी संगठनका नेताहरुले एमाले नेताहरुविरुद्ध अख्तियारमा उजुरी दिनुभएको हो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बिहीबार उजुरी दर्ता भएको छ। ‘

उजुरीपत्रमा झापाको गिरीबन्धु टी स्टेटको नामको जग्गा हिनामिना, कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रमण वर्षको प्रचारप्रसारका अनियमितता भएको भन्दै तात्कालीन विभागीय मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीमाथि अनुसन्धान गरी भ्रष्टाचारमा हदैसम्मको कारवाही गराई पाउन माग गरिएको छ ।

निवेदकहरुले झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारमा गरी ३ सय बिगाहा भन्दाबढी जग्गा रहेको र उक्त गिरीबन्धु टी स्टेट सञ्चालन गर्न नसक्दा हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीत्वमा रहेको सरकारले अर्बो सम्पत्ति लिने खाने नियतले गिरीबन्धु टी– स्टेटको अर्बौ मूल्य पर्ने जग्गा सटटपट्टा गर्न पाउने गरी ऐन संशोधन गरी नीतिगत भ्रष्टाचार भए गरेको हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललगायत भ्रष्टाचारमा संलग्न व्यक्तिलाई भ्रष्टाचारमा कारबाही गरिपाऊँ भनेर माग गर्नुभएको छ।

अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले हस्ताक्षर गरेको उजुरीमा कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै तात्कालीन उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्य मन्त्री ढकालमाथि कारबाहीको माग गरिएको छ।

स्वास्थ्य सामग्री खरिदको समयमा पोखरेल कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को संयोजक र ढकाल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो।

त्यसैगरी भिजिट नेपाल–२०२० को प्रचारप्रसारको क्रममा भएको अनियमिततामा तात्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

Share Now

Leave a comment.