काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनमा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलसंगको संयुक्त बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू देउवालाई साथमा लिएर नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
अहिले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीकाबीचमा वार्ता भइरहेको बताइएको छ ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अमेरिकाले नेपालमा विद्युत प्रशारण लाईन निर्माण र सडक विस्तारकालागि दिएको ६० अर्बको अनुदान सहयोगसम्बन्धी संझौता संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको सहयोगका लागि अध्यक्ष ओलीको निकट पुग्नुभएको हो ।
बिहीबार बिहान कांग्रेस सांसद डा.मीनेन्द्र रिजाल पनि एमाले अध्यक्ष ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग आजै कुरा गर्नुभएको थियो।
प्रधानमन्त्री देउवा एमसीसी आफूहरुले अमेरिकालाई लिखित प्रतिबद्धतामा दिएको समय सीमा फागुन १६ भित्रै एमसीसी संसदबाट पारित गर्न दृढ हुनुहुन्छ। सत्तारूढ गठबन्धनका नेताहरूलाई पनि उहाँले यही कुरा भन्ने गर्नुभएको छ।
आजको बैठकमा पनि प्रधानमन्त्री देउवाले एमसीसी संझौता भोलि बस्ने प्रतिनिधिसभामा टेबल गर्नेबारे कुरा राख्नुभएको थियो।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको संसदीय दलले बुधबार गरेको निर्णयकै कुरा दोहोर्याउनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित नै गर्ने भए केही दिन छलफल गरेरमात्रै संसदमा टेबल गर्नुपर्ने बताउनुभयो। सत्तारुढ गठबन्धनका साझेदारहरुबाट सहयोग हुने स्थिति नदेखिएपछि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित एमाले अध्यक्षको निवास बालकोट पुग्नुभयो ।
हुन त सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे फेरि बस्ने भएको छ।
आजको गठबन्धन बैठकमा संसदलाई कसरी सुचारू गरिने, एमसीसीलाई कसरी संसदमा लैजाने भन्नेबारे छलफल भयो,’ गठबन्धन बैठक सकिएपछि पत्रकारहरूसँगै कुरा गर्दै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘थप छलफल गर्न भोलि १० बजे बैठक बस्छ। प्रधानमन्त्रीले फागुन १६ भित्र एमसीसी पारित गर्नुपर्छ भन्नुभएको छ। छलफल त्यही दिशामा छ।’
प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको यो दोस्रो पटक हो।
गत पौष २४ गते पनि उहाँ ओलीलाई भेट्न बालकोट पुग्नुभएको थियो ।


















