Prakash Adhikari February 27, 2022

काठमाडौं, फागुन १५ । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन् ।

आज एमसीसी संझौतामा छलफल हुने

आजको बैठकमा एमसीसी संझौतामाथि छलफल हुने छ । नेपालको विद्युत प्रशारण लाइन निर्माण र सडक विस्तारकालागि संयुक्त राज्य अमेरिकाको सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)ले दिएको ६० अर्बभन्दाबढीको अनुदान सहयोग रकम स्वीकृत गर्ने सम्बन्धमा गरिएको संझौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनुभएको अन्तिम समय फागुन १६ गते हो ।

नेपालले नै दिएको यो समयमा संझौता अनुमोदन नभएमा यो अनुदान रकम फिर्ता लिने र गरिबी निवारणका लागि पूर्वाधार विकासमा सहयोग माग्ने लोकतान्त्रिक पद्धति भएका अन्य मुलुकलाई दिने जानकारी एमसीसीका उच्च अधिकारीहरुले नेपाललाई दिइसकेका छन् ।

Share Now

Leave a comment.