Prakash Adhikari February 27, 2022

 

काठमाडौं, १५ फागुन । नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)ले दिएको ६० अर्बभन्दाबढी अनुदान सहयोग उपयोग गर्ने सम्बन्धी संझौता संसदबाट पारित गर्न नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लचिलो भएका छन् ।

पार्टीका आधिकारिक निकायबाट त्यसको औपचारिक निर्णय लिन दुवै दल आज आन्तरिक बैठकमा बस्दैछन् ।

छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत भैसकेको एमसीसी संझौतामा छलफल गरी अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

यसअघि गत बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सत्ता गठबन्धनमा सहमति हुन नसकेकै कारण स्थगित गरिएको थियो।

सत्तागठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले संशोधन विना संझौता पारित गर्न नसकिने अडान राखेको र अमेरिकी सहयोग नियोगका एमसीसीका बरिष्ठ अधिकारीहरुले यसमा संशोधनको आवश्यकता नदेखिएको देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा यो संझौता अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग हात बढाउन बाध्य हुनुभएको थियो ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यो प्रक्रियामा औपचारिक रुपमा सहभागी बन्न शर्त राख्यो । उसले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले अनुशासनको कारबाही गरी सांसद पदबाट बर्खास्त गर्न दिएको सूचना समयमा टाँस नगरेर उनीहरुलाई अलग दल खोल्न सहुलियत दिएकोले कि सभामुखलाई कारबाही गर्नुपर्ने कि सो सूचना जारी गरेर एमालेबाट विभाजित भएको एकीकृत समाजवादीका नेताहरुलाई कारबाही गर्नुपर्ने माग राखेको छ । सो माग पूरा नभएको भन्दै नेकपाले गत भाद्र महिनादेखि नै संसदका बैठकहरु अवरुद्ध गर्दै आएको छ ।

शनिबार नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले एमसीसीकै कारण गठबन्धनै टुट्ने र फेरि प्रतिगनकारी शक्ति अगाडि आउने खतरा देखिएको भन्दै गठबन्धन जोगाउन अन्तिम क्षणसम्म प्रयास गरिने जानकारी दिनुभएको थियो। उहाँले साथै एमसीसीको समस्या पनि समाधान हुने र प्रतिगमनविरुद्धको संघर्षबाट जन्मेको गठबन्धन पनि जोगिने उपायको खोजी भइरहेको जानकारी पनि दिनुभयो।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन टुटेर ओली सत्तामा जानेस्थिति आए नेपाल सिध्याउने भएकोले सत्ता गठबन्धन कायम राख्न भगीरथ प्रयास गरिरहेको बताउनुभएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गर्दागर्दै आफूहरूले बचाएको दाबी समेत गर्नुभयो।

शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले नेकपा नफुट्दै ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरूले विरोध गरेपछि अमेरिकाले हटाएको बताउनुभयो।

उहाँले ओली सत्तामा आए त्यस्तै संझौता गरेर आफू टिक्ने र मुुलुक बर्बाद गर्ने भएकोले त्यसो हुन नदिन पनि सत्तारूढ गठबन्धनलाई जोगाउनै पर्ने बताउनुभएको थियो ।

सत्ता गठबन्धनका दुवै नेताहरुले पार्टी कार्यकर्ता पंक्तिमा भएको अमेरिका विरोधी आक्रोश सडकमा पोखिईसकेको र यसमा अमेरिकी सरकारका तर्फबाट एमसीसीले दिएको स्पष्टीकरण संझौताको अंग मानिने भएकोले यसलाई देखाएर गठबन्धन टुटाउनु विवेकपूर्ण नभएको ठहर गरेका छन् । यसैले यसअघि संशोधन र परिमार्जनबिना एमसीसी अगाडि नबढ्ने अडान लिइरहेका माओवादी केन्द्र र एकीकृत समाजवादी व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न लचिलो भएका हुन्।

यस विषयमा पार्टीगत निर्णय गर्न दुवै दलले आज बैठक राख्दै छन्।

एमसिसीबारे औपचारिक निर्णय गर्न माओवादी केन्द्रको आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठक बस्दै छ। यसैगरी एकीकृत समाजवादीले पनि बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको छ।

नेपाली कांग्रेसका उच्चपदस्थ नेताहरुले पनि गठबन्धनभित्रै एमसीसी अनुमोदनको सहमति बनेको पुष्टि गरेका छन्।

एमसीसी पारित गर्न प्रधानमन्त्री नेकपा एमालेको सहयोग लिन पनि पछि नपर्ने देखिएपछि माओवादी र समाजवादी दबाबमा परेका थिए । हिजो बेलुका एमाले र कांग्रेसबीच कुनै सहमति भैहाल्छ कि भन्ने भयले बैठक सकिनुपहिले नै उनीहरुले एमसीसी पारित गर्न दुवैदल लचिलो भएकोले सोही अनुरुप वार्ता सकेर फर्कन कांग्रेस नेतृत्वलाई सूचित गरेका थिए ।

अब संकल्प प्रस्ताव ल्याएर ब्याख्यात्मक टिप्पणी राख्दै एमसीसी पारित गर्न सत्तागठबन्धनमा सहमति बनेको छ । यसो गर्दा गठबन्धनभित्रबाट भएको विरोधको पनि मान रहने र गठबन्धन पनि जोगिने देखिएको छ ।

Share Now

Leave a comment.