Prakash Adhikari March 1, 2022

काठमाडौं, १७ फागुन । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गर्नुभएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

उहाँले फागुन १ गते नै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र भएको दावी गर्नुभयो । त्यो दिन माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताउनुभयो ।

अध्यक्ष नेपालले एमसीसीको विषयमा विवाद सिर्जना गर्ने पहिलो व्यक्ति केपी ओली भएको आरोपसमेत लगानुभएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भ्रम र अन्यौलता प्रष्ट पार्न १२ बुँदे व्याख्यात्मक घोषणा ल्याएको पनि उल्लेख गर्नुभयो ।

‘हामीले समाजमा फैलिएका भ्रम र अन्यौलतालाई प्रष्ट पार्न केही उपायको खोजी गर्यौँ’, अध्यक्ष नेपालले भन्नुभयो।
एमसीसीको व्याख्यात्मक घोषणा केही होइन भन्नेलाई उहाँले अध्ययन गर्न सुझाव दिनुभएको छ। व्याख्यात्मक घोषणा गठबन्धन सरकारले स्वीकार गरेर संसदमा प्रस्तुत गरेको र सिंगो संसदले अत्याधिक मतले सदर गरेको उहाँले प्रष्ट पार्नुभयो।

‘भ्रम चिर्ने प्रयास भएको छ। नेपालको संविधान भन्दामाथि कुनै पनि कुरा हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘एमसीसीमा भ्रम भएकाले नेपालको संविधानको सर्वोच्चतालाई स्वीकार गर्नुपर्ने कुरालाई १२ बुँदामा व्याख्या गरिएको छ।’

छिमेकी राष्ट्रमाथि शंका उपशंका गर्न नसक्ने भन्दै उहाँले नेपालको भूमिमा नेपालको अधिकार स्थापित हुनुपर्छ भन्ने कुरामा आफूहरु प्रष्ट भएको उल्लेख गर्नुभयो।

Share Now

Leave a comment.