किएभ(युक्रेन), १७ फागुन(बीबीसी) । रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी क्षेप्यास्त्र तर बमबारी गरेको छ ।
यसलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युद्ध अपराध भन्नुभएको छ।
सोमवार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो।
खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको उल्लेख गर्नुभएको थियो।
“त्यो स्पष्ट रूपमा युद्ध अपराध हो। शान्त सहर, शान्त आवासीय क्षेत्र। कुनै सैन्य संरचना थिएन। दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ। रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो।”
खार्किभ हमला
यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन्। यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताउनुभएको थियो।
युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ।
खानले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गर्नुभएको छ।
चेतावनीः यो भिडिओमा विचलित पार्ने खालका दृश्य छन्। बीबीसीले यसको आधिकारिकता पुष्टि गरेको छ तर स्रोत अज्ञात छ।
रुसी बख्तरबन्द गाडीको लम्कँदो लस्करले किएभमा त्रास
यसैबीच बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले पठाउनुभएको समाचारमा रुसी सेनाको लस्कर युक्रेनको राजधानी किएभतिर बढेको उल्लेख छ ।
युक्रेनी राजधानी किएभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्यले ‘विश्वले हेरिरहेको छ’ भन्ने उक्तिलाई नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ।
वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन्। अनि प्राप्त विवरणहरू अनुसार सहरतर्फ पुग्दै गर्दा यो झनै विस्तार हुँदैछ।
यी त्रासहरूका माझ युक्रेनका अन्य भागहरूबाट आएका खबरले झन् डर थपिरहेको छ।
सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने ुमध्ययुगीन तरिका’ अपनाउन थालेका विवरण आएका छन्।
यो आक्रमण सुरु हुँदा शायद केही दिनमा वा अझ केही घण्टाभित्रै रुसको शक्तिशाली सेनाले किएभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो।
तर छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन। उसको सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन। सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन्।
तर यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ। विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ।
रुसी हमलामा ७० युक्रेनी सैनिकको मृत्यु
रुसी सेनाको आक्रमणमा परी पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा आइतवार झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको एक स्थानीय अधिकारीले बताएका छन्।
सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ।
उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो।
“धेरै मानिस मारिएका छन्। अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गररहेका छौँ,” टेलिग्राममा उहाँले लेख्नुभएको छ।
“तर शत्रुहरूले पनि पाउनुपर्ने फल पाएका छन्,” उहाँले थप्नुभयो। उहाँका अनुसार सहरमा “धेरै रुसीका शवहरू” पनि देखिएको छ।
यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ।


















