कोलम्बो(श्रीलंका), २८ फागुन । विश्वकप क्रिकेट लिग २ को छनोट खेलमा प्रतिस्पर्धा गर्नुपहिलेको अभ्यासको लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम चौथो खेलमा पराजित भएको छ ।
शुक्रबार भएको श्रीलंका संयुक्त ११सँगको खेलमा नेपाली टिम ९२ रनले पराजित भएको हो।
टस जितेर पहिला ब्याटिड. रोजेको श्रीलंका संयुक्त ११ ले ५०ओभरको निर्धारित खेल ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो।
२ सय ३३ रनको लक्ष्य पाएको नेपाली राष्ट्रिय टिम श्रीलंकाका पुलिस र नेभीका उत्कृष्ट खेलाडीको संयुक्त टिमले दिएको लक्ष्य हासिल गर्न असमर्थ भयो । उसले निर्धारित ५० ओभरको खेलमा३५.२ ओभरमा सबै विकेट गुमाउर्दैै १ सय ४० रन मात्र बनाउन सक्यो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने कुशल भुर्तेल ३२ रन बनाएर आउट भए।
रोहितकुमार पौडेलले २१ र आरिफ शेखले १३ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यस पहिले खेलमा टस जितेर ब्याटिंग रोजेको श्रीलंका ११ ले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको थियो ।
श्रीलंकाका लागि ओपनर दिलशान मुनविराले १४, सन्दुन विराक्कोडीले ४९ रन, उपुल थारांगा ३ रन, कप्तान थिसारा परेरा ८ रन, चमरा सिल्भा ६ रन तथा रमेश निस्मन्था १८ रन बनाए ।
अनुक फर्नान्डोले ५६ तथा कुमारास्वामीले ३० रन बनाए।
श्रीलंकालाई रोक्ने क्रममा नेपालका दीपेन्द्र ऐरी र सागर ढकालले समान ३ ।३ तथा आरिफ शेख , सोमपाल कामी र सन्दिप लामिछानेले समान एक एक विकेट लिए।
भ्रमण अन्तर्गत यस अघिका ती खेलमा नेपालले जितेको थियो। नेपालले बिहिबार श्रीलंका पुलिसलाई १ सय ४४ रनले पराजित गरेको थियो भने त्यस अघि श्रीलंका नेभीलाई १ सय ११ रन र ८१ रनले पराजित गरेको थियो।
भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ मा संयुक्त अरब इमिरेट्स(युएई) प्रस्थान गर्ने तालिका छ।
विश्वकप लिग(२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २ । २ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।


















